September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

गुणस्तरीय स्याहारसम्बन्धी अभियान

भक्तपुर, २६ मंसिर। बाबुआमा तथा परिवारविहीन बालबालिकालाई आश्रय दिँदै आएको एसओएस बालग्राम नेपालले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिसँग सहकार्य गर्दै  बालबालिकाको गुणस्तरीय स्याहारसम्बन्धी अभियान सुरु गरेको छ।  

सन् २००९ मा संयुक्त राष्ट्रसङ्घले तयार पारेको बालबालिकाको लागि वैकल्पिक स्याहारसम्बन्धी निर्देशिकामा आधारित रहेर यो अभियान सुरु गरिएको बालग्रामका राष्ट्रिय निर्देशक शङ्कर प्रधानाङ्गले बताउनुभयो।  

एसओएस अन्तर्राष्ट्रिय बालग्रामले गत वर्ष (सन् २०१२) देखि सुरु गरिसकेको 'मेरो हेरविचार गर्नुहोस्' नाराका साथ यो अभियान एसओएस बालग्राम नेपालले  नेपालमा पनि सुरु गरेको हो।  

आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी नेपाल सरकारले जारी गरेको मापदण्ड कार्यान्वयन र प्रवर्द्धनका लागि एसओएस बालग्राम रहेका १० जिल्लाहरू भक्तपुर, काठमाडौं र ललितपुरका साथै काभ्रे, कास्की, रुपन्देही, चितवन, सुनसरी, सुर्खेत तथा कैलालीमा यो अभियान सुरु भएको हो। 

बालबालिकाका लागि काम गर्दै आएका बालगृह, आवासीय गृहहरू वा यस्तै वैकल्पिक स्याहार केन्द्रहरूमा रहेका बालबालिकाको गुणस्तरीय स्याहार गर्नुपर्छ भन्ने मान्यता नै यो अभियानको मूल उद्देश्य रहेको निर्देशक प्रधानाङ्गले बताउनुभयो।  

बालबालिकालाई सकभर उनीहरूकै आमाबाबु वा नजिकको आफन्तसँग बसेर हुर्किन पाउने अधिकारको सुनिश्चित गर्नु र वैकल्पिक स्याहार केन्द्रमा रहँदाका बेलामा पनि उनीहरूको अधिकारको संरक्षण गर्दै गुणस्तरीय स्याहारको व्यवस्था गर्नु अभियानको अर्काे उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो।  

अभियानबाट विभिन्न बालग्राम, बालगृह, बालबालिकासम्बन्धी वैकल्पिक स्याहार केन्द्र र यस्तै सङ्घसंस्थामा आश्रित हजारौं बालबालिकाले अधिकारमा आधारित स्याहार र हेरविचार पाउने अपेक्षा एसओएस बालग्रामले गरेको छ।     रासस