September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

बाँसको व्यवसायबाट मनग्य आम्दानी

कालीकोट, २६ मंसिर। पाँच वर्षअघि खेतीयोग्य जमिनमा बाँस लगाउँदा उल्टो काम गरेको भन्ने समुदायको अगाडि अहिले बाँसबाट राम्रो आम्दानी हुन थालेपछि छिमेकी डाहा मान्न थालेका छन्।  

घर नजिक रहेको सानो बारीमा बाँस लगाएकी फुकोट–३ की वेलसरा तिरुवाले अहिले राम्रो आम्दानी गर्न थालेकी छन्। सुरुमा छिमेकीसँग फर्सी दिएर ल्याएको बाँसको जरालाई राम्रोसँग व्यवस्था गर्दा हुर्काउन चार वर्ष लागेको र अहिले नियमित आम्दानी हुने गरेको उनले बताइन्।  

आफूलाई पैसाको समस्या परेको बेला बाँसको बिक्रीबाट हुने आम्दानीले अरूको अगाडि गएर हात थाप्नु नपरेको उनी बताउँछिन्। अहिले वार्षिक रूपमा १० देखि २० हजारभन्दा बढी आम्दानी हुने गरेको बताउँदै गाउँमा घर बताउने मान्छेले अगाडि नै रकमसमेत दिने गरेको उनको भनाइ छ।  

आम्दानीको अन्य स्रोत नभएकी वेलसराले बाँसको आम्दानीबाट आएको रकमले छोरा छोरीहरूको पढाइ खर्चका साथै घरमा आइपर्ने अन्य समस्या समाधान गर्ने गरेको बताइन्। उनका अनुसार तीन छोरा, तीन छोरी र दुई बुढाबूढीको आम्दानीको प्रमुख स्रोत नै बाँसबाट आम्दानी हुने गरेको छ। आम्दानी हुन थालेपछि अन्य खेतबारीमा समेत बाँसको व्यावसायिक खेती गर्ने आँट गरेको उनका श्रीमान्ले बताएका छन्। रास्कोटका फुकोट, स्युना, सिप्खाना, नानिकोटलगायतका गाविसमा निगालोको अभाव भएका कारण बाँसबाट घर छाउने, डोका नाम्लो बनाउने र शुभ तथा अशुभ काममा पनि बाँस प्रयोग हुने गरेको स्थानीयले बताएका  छन्। 

समुदायले गाउँमा बाँसमात्र होइन निगालोको खेती पनि सुरु गर्न थालेका छन्। बाँसको व्यवसायबाट राम्रो आम्दानी हुने भएकाले आधुनिक व्यवसायका लागि व्यावसायिक तालिम र प्रविधिको आवश्यक सहयोग भएको खण्डमा सहज हुने उनीहरूको ठम्याइ रहेको छ। 

बाँस लगाउँदा धेरै श्रम पनि गर्नु नपर्ने र राम्रो आम्दानीको स्रोत पनि हुने स्थानीयवासीले बताएका छन्। कालीकोटमा अहिलेसम्म रुप्सा, मेहलमुडी, मुम्रालगायतका गाविसमा परम्परागत रूपमा निगालोबाट डोका, डाला, नाम्लो बनाउने काम भए पनि आधुनिकतातर्फ भने कसैको ध्यान जान नसकेको बताइएको छ। रासस