September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

कुपोषितको सङ्ख्या ८३ प्रतिशतले घट्यो

सोलुखुम्बू, २७ मंसिर। सोलुखुम्बूको अत्यन्तै दुर्गम गाविस गुदेलमा कुपोषणको सिकार हुने बालबालिकाको सङ्ख्या तीन वर्षअघिको तुलनामा झण्डै ८३ प्रतिशतले घटेको छ।  

तीन वर्षअघि गाविसभरमा गरी ३६ जना बालबालिका कुपोषणको रोगी रहेकामा हाल त्यो सङ्ख्या घटेर छ जनामा झरेको उपस्वास्थ्य चौकी गुदेलले जनाएको छ।  

अशिक्षा र गरिबीका कारण एकै आमाले ८/१० जना छोराछोरी जन्माउने र उचित पालनपोषण नहुँदा त्यहाँका बालबालिका कुपोषणको सिकार हुने गरेका थिए। तर पछिल्लो समयमा अभिभावकमा आएको चेतना स्तरवृद्धि र हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा केन्द्र फाप्लुले वितरण गरिरहेको सर्वाेत्तम पिठोका कारण समस्या घटेको स्वास्थ्य चौकीले जनाएको छ। 

अहिले गुदेल गाविसमा बच्चा गर्भमा रहेको तीन महिनादेखि दुई वर्षको नहुञ्जेलसम्म दुई महिनामा १० केजीका दरले सर्वोत्तम पिठो वितरण गरिंदै आएको छ।  

यसबाट आमा र बच्चा दुवैको स्वास्थ्य अवस्थामा सुधार भएको र बच्चाको तौलमा पनि वृद्धि हुन थालेको उपस्वास्थ्य चौकीका स्टोर किपर रणविक्रम कुलुङले बताउनुभयो।  

हरेक दुई महिनामा उपस्वास्थ्य चौकीमा पुगेर पिठो ल्याउनु पर्ने र पिठो लिन गर्भवती महिला तथा बच्चा जन्मिएपछि पनि बच्चा लिएर आमा आफै जानुपर्ने व्यवस्था छ।  

पिठो लिन गएका गर्भवतीको गर्भपरीक्षण र बच्चाको तौललगायत स्वास्थ्य अवस्थाको परीक्षणसमेत गरेर तथ्याङ्क राखिने गरेको छ। सो तथ्याङ्कलाई हेर्दा अहिले गुदेल गाविसमा आमा र बच्चाको स्वास्थ्यमा सकारात्मक सुधार हुन थालेको पाइन्छ।  

सर्वाेत्तम पिठो लिन आउने आमाहरूमा महिला स्वास्थ्यसम्बन्धी जानकारी र परिवार नियोजनका अस्थायी साधनको प्रयोगको बारेमा समेत जानकारी गराएपछि उनीहरूको स्वास्थ्य चेतनास्तरमा  वृद्धि भएको स्वास्थ्य चौकी गुदेलले जनाएको छ।