चाकु 'ए' विद्युत् आयोजनाको ५० प्रतिशत काम सम्पन्न
चौतारा, २७ मंसिर। निजी क्षेत्रबाट निर्माणाधीन सिन्धुपाल्चोकको चाकु 'ए' जलविद्युत् आयोजनाको काम ५० प्रतिशत सम्पन्न भएको छ।
दुई वर्षअघि सुरु भएको २२.२ मेगावाट क्षमताको सो आयोजना आगामी १६ महिना अर्थात् २०७१ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाका कार्यकारी निर्देशक उमेश कसजूले बताउनुभयो।
मार्मिङ र फुल्पिङकट्टी गाविसमा मुख्य सुरुङ निर्माणस्थल रहेको सो आयोजनाको तीन हजार मिटर सुरुङमध्ये एक हजार ५०० मिटर सुरुङ निर्माण भइसकेको छ। त्यसैगरी बाँध र विद्युत् गृहको कामसमेत ५० प्रतिशत सम्पन्न भइसकेको छ भने आवश्यक पाइप आयोजनास्थलमा पुगिसकेको छ।
चिनियाँ कम्पनीबाट झिकाइने आवश्यक मेसिन अर्को महिनामा आइसक्ने र अरनिको राजमार्गबाट आयोजनास्थलसम्मको ३० किमि प्रवेश मार्गको निर्माण सम्पन्न भइसकेको छ।
मार्मिङ गाविसको याङ्लेफाँटमा निर्मित विद्युत्गृहदेखि लामोसाँघुस्थित सवस्टेसनसम्मको १३२ केभिए क्षमताको २० किमि लामो प्रसारण लाइनको काम १४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ भइरहेको छ। लामोसाँघुबाट केन्द्रीय प्रसारण लाइनमा आबद्ध गरिनेछ।
शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा रु. तीन अर्ब लागतमा निर्माण भइरहेको सो आयोजनाबाट वार्षिक ११८ मेगावाट आवर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ। रासस
|