September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

सिँचाइ आयोजना नबन्दा कृषक समस्यामा

म्याग्दी, २७ मंसिर। तरकारी, फलफूल र दुग्ध उत्पादनका लागि पकेट क्षेत्र मानिने म्याग्दीको सिङ्गा गाविसस्थित बास्कुना गाउँका कृषक आवश्यक सिँचाइ सुविधा नहुँदा समस्यामा परेका छन्।  

सिँचाइका लागि मुहान भए पनि खेतबारीसम्म पानी ल्याउनका लागि सिँचाइ आयोजनाको अभाव भएको स्थानीय अगुवा कृषक तिलक गुरुङले बताउनुभयो। गाउँदेखि करिब ६ किलोमिटर टाढा भकिम्ली–२ मा सिँचाइका लागि बालमखोलाबाट पानी ल्याउन सकिने भए पनि सरोकारवाला निकायको बेवास्ताको कारण बास्कुना गाउँका कृषकले सिँचाइ सुविधा पाउन नसकेको कृषक गुरुङले बताउनुभयो।  

रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेर स्वदेश फर्किएर कृषि पेसा सुरु गरेका स्थानीय कृषकलाई सिँचाइ सुविधा नहुँदा समस्या परेको गुनासो गरेका छन्। सिङ्गा गाविस–१, २ र ३ बास्कुना, थामडाँडा र सुर्केमेला गाउँलाई लक्षित गर्दै दुई वर्षअगाडि सिँचाइ सुविधाको मागपत्र क्षेत्रीय सिँचाइ कार्यालय पोखरा, डिभिजन सिँचाइ कार्यालय बागलुङ र तत्कालीन सभासद्मार्फत् सिँचाइ मन्त्रालयमा पेस गरे पनि कुनै निकायबाट पनि त्यसबारे सम्बोधन नभएपछि अहिले कृषकलाई समस्या भइरहेको स्थानीय कृषक भीम थापाले जानकारी दिनुभयो।  

पशुपालन र कृषिमा प्रचुर सम्भावना रहेको बास्कुना गाउँका कृषकले सम्बन्धित निकायबाट सिँचाइ सुविधाका लागि पहल भएमा सुन्तला तथा फलफूलखेतीलाई विस्तार गर्ने जनाएका छन्। अहिले स्थानीय छहारे खोलबाट ल्याएको सिँचाइको कुलो पहिरोले बगाएपछि सिँचाइ समस्या भएको स्थानीय कृषक शेरबहादुर केसीले बताउनुभयो।