September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

फ्रान्समा सम्पत्तिको मूल्य बढेको आशङ्का

पेरिस, २७ मंसिर। हाल पूँजी सस्तो ब्याजदरमा उपलब्ध भएकाले लगानीकर्ताहरूले यस्तो रकम लिइ मूल्य बढ्ने अपेक्षामा कलादेखि मदिरा (वाइन) तथा बिटक्वाइनजस्ता सम्पत्तिमा खन्याउने गरेको विश्लेषकहरूले बताएका छन्। केही समय यस्ता सम्पत्तिको मूल्य बढे पनि र केहीले कीर्तिमान नै कायम गरे पनि यसले सम्पत्तिको मूल्य अनावश्यक रूपमा बढेको र सन् २०१४ मा यो विस्फोट हुने अवस्थामा पुगेको उनीहरूले उल्लेख गरेका छन्।  

सन् २००८ मा सङ्कट आरम्भ भएपछि केन्द्रीय बैङ्कहरूले निकै कम दरमा ऋण उपलब्ध गराउने गरेको र अधिक तरलता कायम गर्ने गरेको देखिएको थियो।  

फ्रान्सेली बजार नियमनकर्ता एएमएफसँगको गोलटेबुल बैठकमा विश्व बैङ्कका वित्तीय निर्देशक बट्रान्ड बाद्रले निकै अधिक तरलता खन्याएर प्रमुख समस्याबाट मुक्ति प्राप्त भएको बताउनुभयो।  

उहाँले अमेरिकी फेडरल रिजर्भ र केन्द्रीय बैङ्कहरूले बजारमा तरलता खन्याउने काम गरिरहेको र केही समयमा उनीहरूले परिस्थितिलाई ध्यान दिनुपर्ने बताउनुभयो।  

एएमएफका अध्यक्ष जेरार्ड रामिक्सले तरलता बढी भयो भन्ने कुरामा जोखिम रहेको सबैले स्वीकार गरेको बताउनुभयो। उहाँले अमेरिकामा कमजोर श्रेयदर भएका व्यक्ति वा संस्थाहरूको सङ्कट यसैबाट उत्पन्न भएको उल्लेख गर्नुभयो। यसै कारण सन् २००८ मा विश्वव्यापी आर्थिक सङ्कट आरम्भ भएको थियो। यी सबैको कारण आवश्यकभन्दा बढी तरलता रहेको बताइएको छ। 

सन् २००० मा कम ब्याजदरका कारण ऋण प्रवाह बढेको थियो। कमजोर वित्तीय श्रेय भएका व्यक्ति तथा संस्थाहरूले पनि घरकर्जा प्राप्त गरेका थिए। वित्तीय बजारमा यसलाई कमजोर श्रेय भएको ऋण (सबप्राइम लोन) भनिन्छ।  

जब सम्पत्तिको मूल्य घट्न थाल्यो तथा ब्याजदर बढ्न थाल्यो तब जनताको ठूलो भाग दोहोरो मारमा परे। यसका कारण धेरैले ऋण तिर्न सकेनन् र कमजोर श्रेय भएको ऋणको सङ्कट देखापर्न थाल्यो।  

अरबौंको खराब कर्जा भएपछि बैङ्कहरूले ऋण कटौती गर्न थाले र यसले सञ्चालनमा वित्त आवश्यक पर्ने कम्पनीलाई कठिन अवस्थामा पुर्‍यायो। यस्तो अवस्थामा विश्व अर्थतन्त्रलाई पूर्ण रूपमा स्खलित हुन नदिन केन्द्रीय बैंकहरूले पुनः अरबौंको तरलता प्रवाह गरे।  

यसका लागि ब्याज दर निकै कम दरमा झारियो। युरोपेली बैङ्कहरूले नोभेम्बर महिनामा हालसम्मकै कम अर्थात ०.२५ प्रतिशतमा ब्याजदर कायम गर्‍यो। अमेरिकी केन्द्रीय बैङ्कले सन् २००८ को अन्त्यदेखि नै उक्त दर कायम गरेको थियो।