पोलियो खोप अभियानमा खटिएका प्रहरीको हत्या
पेसावर (पाकिस्तान), २८ मंसिर। पाकिस्तानको उत्तर–पश्चिम भागमा पर्ने सहरमा पोलियो खोप अभियानमा खटिएका दुई प्रहरीमाथि बन्दुकधारीहरूले गोली प्रहार गरेका छन्। सो गोली प्रहारबाट एक प्रहरीको मृत्यु हुनुको साथै अन्य एक गम्भीर घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।
यसअघि पनि पोलियो खोप अभियानमा लागेका समूहमाथि विरोधीहरूले बारम्बार आक्रमण गर्दै आएका थिए। तालिवान विद्रोहीहरू यस पोलियो खोप विरोधी रहेका र उनीहरूले यसलाई प्रतिबन्ध नै लगाएका थिए।
सो अभियानको सुरक्षाको जिम्मामा खटिइएर स्वाबी सहरमा मोटरसाइकलमा गइरहेका दुई प्रहरीमाथि कम्तीमा चार बन्दुकधारीले आक्रमण गरेका जनाइएको छ।
बन्दुकधारीहरूको गोली प्रहारबाट एक प्रहरीको दुर्घटनास्थलमै मृत्यु भएको र अन्य एक घाइते भएको जनाइएको छ।
घाइते प्रहरीको अवस्था पनि चिन्ताजनक भएको स्थानीय प्रहरी अधिकारी मुहमद सजाद खानले एएफपी समाचार समितिलाई बताउनुभएको छ। खानका अनुसार ती दुबै प्रहरी सो इलाकामा हाल चलिरहेको पोलियो खोप अभियानमा सुरक्षाको जिम्मामा खटिएका थिए।
सन् २०१२ को जून महिनामा तालिवान विद्रोहीहरूले यस पोलियो खोपलाई प्रतिबन्ध लगाएयता हालसम्म सो अभियानसँगै सम्बन्धित कम्तीमा २६ व्यक्तिको मृत्यु भएको एक गुप्तचर अधिकारीले पुष्टि गरेका छन्।
हाल भएको यस आक्रमण 'फादर अफ द तालिवान' को नामबाट चिनिने पाकिस्तानी धार्मिक नेताले पोलियोविरुद्ध खोप लगाएर सम्भावित रोगबाट आफ्ना सन्तानलाई बचाउनको लागि आमाहरूलाई आग्रह गरेको केही समयपछि नै भएको छ।
विश्वका तीनवटा देशहरूमध्ये पाकिस्तानमा पनि अझैसम्म पोलियो रोगले सताउने देशको सूचीमा पर्दछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाकिस्तानमा यस वर्ष पोलियोसँग सम्बन्धि ७२ वटा समस्याहरू देखापरेका छन्। यसैगरी सन् २०१२ मा पोलियोसँग सम्बन्धित ५८ वटा समस्या देखा परेका थिए।
एएफपी
|