पाहुना राख्ने ठाउँमा दाउरा
भक्तपुर। होमस्टे सञ्चालन गर्न पर्यटन व्यवसायीहरूले घर चिटिक्क पारेर आँगन, पिंढी सफा गरे। पाहुनाको स्वागतका लागि बाटो कुरेर बसे तर वर्ष दिन बित्न लागिसक्दा पनि नंखेलमा चलेको हाामस्टे पाहुनाविहीन छ। पाहुना नआएपछि होमस्टे सञ्चालन गर्न लागेको घरमा उनीहरूले दाउरा र अन्न भण्डार गर्न थालेका छन्।
पर्यटन वर्ष सुरु भएपछि तारा गाउँ तथा पर्यटन विकास समितिको सहयोगमा उहाँका आठ घरले होमस्टे सुरु गरेका थिए। समितिका शिवशरण थापाका अनुसार स्थानीयले प्रभावकारी काम गर्न नसक्दा होमस्टे सञ्चालनमा समस्या भएको बताए। उनले भने, 'सञ्चालकमा पूर्वाधार र समन्वयको अभाव देखियो।'
भक्तपुर पर्यटन विकास समितिका अनुसार भक्तपुरमा वार्षिक १ लाख ९५ हजार ५ सय पर्यटक आउँछन्। होमस्टे सञ्चालक बसन्त कासुलाले सक्दो प्रयास गरे पनि स्थानीयको बेवास्ताले पर्यटक नआएको बताए। उनले भने– पर्यटक आएनन् हामी पाहुना राख्ने ठाउँमा दाउरा राखेर बसेका छौं।
–सुनिता सुवाल, प्रशिक्षार्थी
|