September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

भारत पलायन हुने क्रम बढ्यो

कालीकोट, २८ मंसिर। कालीकोट जिल्लाका ग्रामीण क्षेत्रमा हिउँदको समयमा भारत जानेको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ।  

भारत जानेमा सबैभन्दा बढी जिल्लाको दक्षिण भेग पलांताका बासिन्दा रहेका छन्। अन्य क्षेत्रका भन्दा विशेषगरी यहाँका बासिन्दा व्यापारका लागि भारतको सिक्किम, जम्मुकस्मिरलगायतका क्षेत्रमा जाने गर्दछन्। उनीहरू त्यहाँ जाडो मौसममा न्यानो कपडा बिक्री गर्ने गर्दछन्। प्रत्येक वर्ष हिउँदे बाली भित्र्याउनुका साथै दसैंतिहार मनाएर भारत जाने गरेकामा यस वर्ष निर्वाचनका कारण ढिलो जानु परेको उनीहरू बताउँछन्।  

जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको पलांताको धौलागोह, खिन, थिर्पु, नानिकोट, राम्नाकोटलगायतका गाविसका बासिन्दा दिनहुँ सयौंको सङ्ख्यामा भारतमा जान थालेका हुन्।  

भारतलगायतका वैदेशिक मुलुकमा जानु आफूहरूको बाध्यता भएको बताउँदै स्वदेशमा कहिले रोजगारीको व्यवस्था होला र ढुक्कसाथ बस्ने वातावरण होला भन्नेमा आफूहरू रहेको उनीहरूको दुखेसो छ। जीविकोपार्जनका लागि बर्सेनि बालबच्चासहित अर्काको देशमा तल्लो दर्जाको नागरिकजस्तै भएर काम नगरी सुख्खै नहुने उनीहरूको दुखेसो छ। पलांताको खिन गाविसका उखाडीमा अहिले एकजना पनि पुरुष नभएको बताइएको छ। सो गाउँमा भएका युवादेखि बुढापाका तथा बालबालिकासमेत भारत गएका र गाउँमा रहेका केही युवा भेडाबाख्रापालनमा मधेसतिर झरेको स्थानीय मिम धामीले बताए। 

ससाना बालबच्चा बोकेर मुग्लानमा जान बाध्य कर्णालीवासीको पक्षमा संविधानसभाको निर्वाचनबाट चुनिएर गएका प्रतिनिधिहरूले संविधान बनाएमा कालीकोटका बासिन्दामा मात्र होइन सिङ्गो कर्णालीवासीको मुहारमा खुसियाली देखिनेछ। त्यसैले यहाँका जनता सो अनुकूलको संविधान निर्माण हुने अपेक्षामा बसेका छन्।      रासस