चरन क्षेत्र अभावले मह उत्पादन घट्यो
बागलुङ, २८ मंसिर। बढी वर्षा र माहुरीको चरन क्षेत्रमा पर्याप्त मात्रामा फूल नफुलेका कारण मह उत्पादनमा कमी आएको छ।
मह उत्पादनका हिसाबले महत्त्वपूर्ण मानिने यहाँका गाउँमा मह उत्पादनमा ह्रास आएपछि मह बेचेर राम्रो कमाइ गर्न सफल किसान निराश बनेका छन्।
जिल्लाको मल्म, काँडेबास, हटिया र रिघा गाविसका किसान यो वर्ष मह उत्पादनमा उल्लेख्य गिरावट आएको बताउँछन्। माहुरीपालनका लागि उपयुक्त मानिएको मल्म गाविसको बरेखानीका १२ घरले वार्षिक रूपमा ६० घारभन्दा बढीको मह बेच्ने गरेका छन्। यो वर्ष गत वर्षको तुलनामा मह उत्पादन धेरै घटेको बरेखानीका किसान लीलाधर गौतमले बताउनुभयो।
उहाँका अनुसार गत वर्ष १० वटा मुढे घारबाट २५ केजी मह उत्पादन भएकामा यो वर्ष मुस्किलले सात केजीमात्र उत्पादन भएको छ। मह चरनका लागि नजिकै रहेको वनमा चिउरी, कटुस, गोभान र पैयुँजस्ता बोटबिरुवामा उपयुक्त मात्रामा फूल नफुलेपछि माहुरीको चरनमा समस्या भएको गौतमको भनाइ छ।
वर्षाको बेला ठूलो पानी पर्दा पनि चरनमा रहेको माहुरी मर्ने गर्छन् । त्यस्तै अहिले वनपाखामा फूल पनि फुल्न छोडेको छ गौतमले भन्नुभयो–“माहुरी चरनका लागि उपयुक्त स्थल र वातावरण नभए मह उत्पादन पनि घट्दै जान्छ।”
बरेखानीका किसानले प्रत्येक घरमा मुढेघार राखेर मह उत्पादन गर्ने गरेका छन्। व्यावसायिक रूपमा माहुरीपालन नगरे पनि यहाँका किसान घरमा उत्पादन भएको मह बेचेर पनि आम्दानी गर्ने गर्छन्। यहाँ प्रत्येक घरमा माहुरीका घार छन्। यस क्षेत्रका दर्जनौं गाविस र सदरमुकामदेखि पोखरा, काठमाडौंसम्म यहाँको मह बिक्रीका लागि जाने गर्छ।
हाल प्रतिकेजी महको मूल्य एक हजार रुपैयाँ रहेको किसान बताउँछन्। यहाँ उत्पादित मह शक्तिवर्द्धक पनि हुने र विभिन्न रोग निको हुने विश्वासका साथ विदेशमा पुर्याउने गरिन्छ। कोसेलीको रूपमा पनि विदेशमा रहेका आफन्तले मह लैजाने गरेको किसान लीलाधर गौतमले बताउनुभयो।
रासस |