अमेरिकी सैनिकका लागि दबाबविरुद्ध अफगान राष्ट्रपति करजईको चेतावनी
नयाँ दिल्ली, २९ मंसिर। अफगान राष्ट्रपति हमिद करजईले आउँदो वर्षदेखि अफगानिस्तानमा अमेरिकी सेनालाई कायम रहन दिन आफ्नो मुलुकले दबाबमा सम्झौतामा हस्ताक्षर नगर्ने बताउँदै भारतलाई थप सैनिक सामग्री उपलब्ध गराउन आग्रह गर्नुभएको छ।
राष्ट्रपति करजईले भारतको तीनदिने भ्रमणको आरम्भमा प्रधानमन्त्री मनमोहन सिंह तथा विदेशमन्त्री सलमान खुर्शिदसँग भेट गर्नुभयो।
भारतमा शिक्षा हासिल गरेका अफगान राष्ट्रपति करजईको भारतसँग राम्रो सम्बन्ध रहेको छ। भारत अफगानिस्तानबाट सन् २०१४ मा अमेरिकाको नेतृत्वमा रहेको नेटोको ७५ हजार सैनिक फिर्ता गएपछि कट्टरपन्थी तालिवान लडाकू सत्तामा फिर्ता नजाओस् भन्ने चाहन्छ।
भारतीय टेलिभिजन एनडीटीभीमा बोल्दै राष्ट्रपति करजईले सन् २०१४ पछि १२ हजार अमेरिकी सैनिक अफगानिस्तानमा कायम रहन र यसका लागि उनीहरूको शर्त कायम गर्ने कुरामा आफू बाध्य नहुने बताउनुभयो।
आउँदो वर्ष पदबाट हट्ने राष्ट्रपति करजईले आरम्भमा दुईपक्षीय सुरक्षा सम्झौतालाई समर्थन गर्नुभएको थियो। उहाँले पछि यो सम्झौतामा अप्रिल महिनामा राष्ट्रपति पदको निर्वाचन भएपछि मात्र हस्ताक्षर गर्न सकिने बताउनुभयो।
अमेरिकी अधिकारी तथा सांसदहरूले यस वर्षको अन्त्यसम्म सम्झौतामा हस्ताक्षर नभए नेटोको सैनिक पूर्ण रूपमा फिर्ता जाने बताएका छन्।
भारतले अफगानिस्तानको पुननिर्माणका लागि दुई अर्ब अमेरिकी डलर खर्च गरेको छ। एएफपी
|