तेल चोरी गरिरहेको अवस्थामा दुईजना पक्राउ
वीरगञ्ज (पर्सा), २९ मंसिर। नेपाल आयल निगमको ट्याङ्करबाट तेल चोरी गरिरहेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार राति वीरगञ्जको प्रतिमाचोकस्थित बाइपास सडकमा रोकिराखेको ना २ ख ७०३ नंको तेल ट्याङ्करबाट तेल चोरी गरिरहेको अवस्थामा चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको हो। बारा, सिमरा वडा नं २ बस्ने वर्ष ३८ को भिम विक र सोही ठाउँको वर्ष १८ को अमृत विकलाई पक्राउ गरिएको हो।
उनीहरूको साथबाट चोरी गर्न लागेको अवस्थामा ४० लिटर डिजेल पनि बरामद भएको पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभयो। पक्राउ परेकालाई सार्वजनिक अपराध ऐनअर्न्तगत मुद्दा दर्ता गराइने पनि प्रहरीले जनाएको छ। रासस
|