मन्डेलाको अन्त्येष्टि गरियो
कुनु, ३० मंसिर। दक्षिण अफ्रिकाको राजधानीमा जोहानसवर्गबाट हिजो राति आफ्नो पुर्खौली घर कुनु ल्याइएको मन्डेलाको पार्थिव शरीर आइतबार साँझ स्थल समाधि गराई अन्त्येष्टि गरिएको छ।
बाल्यावस्थादेखि किशोर हँुदासम्म स्वर्गीय नेल्सन मन्डेलाले दक्षिण अफ्रिकामा एक सानो गाउँमा आफ्नो जीवन बिताउनुभएको थियो।
मैदानी र डाँडाकाँडा भू–भागले ढाकिएको रमणीय कुनु गाउँमा वस्तुभाउ चराउँदै रमाउँदै मन्डेला आफ्नो किशोरावस्था पार गर्नुभएको थियो।
त्यसैबेला उहाँले स्थानीय प्रौढहरूबाट अनुशासन र संस्कारको पाठ सिक्नुभएको थियो।
त्यही कुनुबाट उहाँले स्वतन्त्रताको लामो यात्रा सुरु गर्नुभएको हो। स्वतन्त्रता सङ्ग्राममा समर्पित हुन मन्डेलालाई कुनु, कुनुवासी र दक्षिण अफ्रिकी काला जनसमुदायले पूर्ण ऊर्जा प्रदान गरेका थिए। जीवनको आखिरी अवस्थातिर उहाँलाई कुनुमै बसोबास गर्न र यही नै प्राण त्याग गर्ने ठूलो इच्छा थियो।
तर जीर्ण र दीर्घरोगग्रस्त शरीरका कारण उहाँलाई प्रिटोरिया जोहानसवर्गस्थित अस्पतालमा राखियो। उहाँको अन्तिम इच्छा पूरा हुन पाएन। मरणोपरान्त भए पनि उहाँको अन्तिम इच्छा पूरा गर्नको लागि कुनुमा अन्त्येष्टि गराउन राष्ट्रपति ज्याकोब जुमाले निर्णय गर्नुभएको थियो।
सैनिक विशेष विमानमा राखी उहाँको पार्थिव शरीरलाई दक्षिण अफ्रिका झण्डाले ढाकी कुनु पुग्ने सबैभन्दा नजिकको मथाथा विमानस्थल पुर्याइएको थियो।
त्यहाँबाट ३२ किलोमिटरसम्म उहाँको शवलाई विशेष वाहानमा राखी लगिएको थियो। स्थानीय समयअनुसार साँझ ४ बजे सूर्यास्त हुनासाथ अन्त्येष्टि सुरु गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्। स्वर्गीय मन्डेला 'जोसा' जनजातिको हुनुभएकोले जातीय परम्पराअनुसार चिहानमा गाडिएको बताइएको छ।
विश्व प्रसिद्ध प्रजातन्त्रवादी नेता एवम् रङ्गभेदविरोधी विश्व आन्दोलनका एकजना प्रमुख अग्रणी दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको गत डिसेम्बर ५ मा ९५ वर्षको उमेरमा निधन भएको थियो। बीसौं शताब्दीको विश्व राजनीतिका एक शिखर पुरुषको रुपमा चर्चा कमाउनुभएका मण्डेला दक्षिण अफ्रिकाको पूर्वराष्ट्रपति हुनुहुन्थ्यो।
दक्षिण अफ्रिकामा अश्वेत जातिका विरुद्धमा व्याप्त रहेको विभेदको अन्त्यका लागि उहाँले गर्नुभएको सङ्घर्षले विश्वका अश्वेत जातिलाई राजनीतिक अधिकारको प्राप्तिका लागि अगाडि बढ्न र स्थापित गर्न निकै प्रोत्साहन गरेको थियो।
शान्तिका लागि नोवेल पुरस्कार प्राप्त गर्नुभएका दक्षिण अफ्रिकाका पहिलो काला जातिका राष्ट्रपति मण्डेलाको ९५ वर्षको उमेरमा डिसेम्बर ५ मा आफ्नै निवास जोहानेस्ावर्गमा निधन भएको थियो
उहाँको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने यसअघि नै अफ्रीकी सरकारले बताएको थियो।
सत्ताइस वर्षसम्म काराबासको कठिन जीवन बिताई, राजनीतिमा सक्रिय भई, पाँच वर्षसम्म दक्षिण अफ्रिकाको राष्ट्रपति पदमा रही, अत्यन्त लोकप्रिय हुनुभएका त्यागी नेता मण्डेलाले ६७ वर्षसम्म देश सेवा गर्नुभएको थियो।
एपी/एएफपी
|