अमेरिकीहरूको विश्वास नगर्नु– अफगान राष्ट्रपति
नयाँ दिल्ली, ३० मंसिर। अफगान राष्ट्रपति हमिद कारजायीले अमेरिकीहरूको विश्वास नगर्न भारतीयहरूलाई आग्रह गर्नुभएको छ।
हाल भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा रहनुभएका उहाँले शनिबार नयाँ दिल्लीमा भन्नुभयो– मैले त लामो समयसम्मका लागि अमेरिकीहरूको विश्वास गर्न छोडेको छु।
अमेरिकीहरूको भनाइ र काम गराइमा एकरुपता नरहेको उहाँको आरोप थियो। उहाँले भन्नुभयो– उनीहरू एउटा बोल्छन् अर्काे गर्छन्, त्यसैले मलाई उनीहरूको विश्वास नै लाग्दैन।
उहाँले अमेरिकीहरूको दबाबकै भरमा आफूले अफगानिस्तानमा बस्ने भनिएका नेटो सैनिकसम्बन्धी सुरक्षा सम्झौतामा हस्ताक्षर नगर्ने बताएलगत्तै आज यो विज्ञप्ति आएको छ।
उहाँले आफूलाई त्यस्तो कुनै पनि बलजफ्तीपूर्ण काम मन नपर्ने भन्दै त्यसले आफूलाई कुनै असर नपर्ने धारणा राख्नुभयो।
नयाँ दिल्लीमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूले विगतमा पनि उनीहरूको विश्वास नगरेको र अहिले पनि नगर्ने भन्दै सन् २०१४ पछिको अफगानिस्तानको चिन्ता अफगानीहरूलाई बढी भएको पनि स्पष्ट गर्नुभयो।
राष्ट्रपति कारजायी भारतको तीनदिने भ्रमणको क्रममा शुक्रबार नयाँ दिल्ली पुग्नुभएको हो। उहाँले सो क्रममा भारतीय अधिकारीहरूलाई पनि भेट्नुभएको छ।
अमेरिकी सरकारले सन् २०१४ पछि पनि अफगानिस्तानमा नेटो सैनिक रहनसक्ने भन्दै सो सानो सङ्ख्यामा सहमति जनाउनका लागि भारतले अफगान राष्ट्रपतिलाई मनाउने अपेक्षा गरेको बताएको छ।
अफगानिस्तान र पाकिस्तानका लागि संयुक्त राज्य अमेरिकाका विशेष प्रतिनिधि जेम्स डबिन्सले सो सुरक्षा सम्झौताको विषयमा भारतले अफगान राष्ट्रपति कारजायीलाई कुराकानी गर्ने अपेक्षा गरेको समाचार हालैमात्र सार्वजनिक भएको थियो।
उहाँको सोही भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले यस विषयमा कुराकानी गर्ने सो समाचारमा विशेष प्रतिनिधि जेम्सले बताउनुभएको थियो।
अफगानिस्तानमा सन् २०१४ पछि पनि अमेरिकाका १२ हजार गरी बढीमा १४ हजार सेना बस्ने प्रस्तावसहितको एक सुरक्षा सम्झौता यसअघि नै अमेरिकाले तयार पारेको छ।
सो प्रस्तावमा अफगानिस्तानले सहमति जनाउनुपर्ने धारणा अमेरिकाको छ। साथै चीन, पाकिस्तान र रसियाले पनि अफगानिस्तानले सो सुरक्षा सम्झौतामा हस्ताक्षर गर्नुपर्ने धारणा यसअघि नै सार्वजनिक गरेका छन्।
अफगानिस्तानमा रहेका नेटो सैनिकको बसाई अवधिलाई लम्ब्याउने विषयमा अमेरिका र अफगानिस्तानका बीचमा हुने भनिएको सुरक्षा स्ाम्झौता अन्योलमा परेको छ। विगतका महिनादेखि यस विषयमा अमेरिका र अफगानिस्तानका बीचमा विवाद उत्पन्न भएको छ।
अमेरिकाले अफगानिस्तानमा रहने भनिएका ती नेटो सैनिकलाई निरन्तरता दिनेसम्बन्धी द्विपक्षीय सुरक्षा सम्झौता (बस्एसए) मा हस्ताक्षर गर्न गरेको विगत लामो समयदेखिको आग्रहलाई अफगानिस्तानले अस्वीकार गर्दै आएको छ।
राट्रपति कारजायीले उक्त प्रस्तावको बारेमा अमेरिकीहरूसँग छलफल गर्न नै इच्छा देखाइरहनुभएको छैन। गत हप्तामात्र अफगानिस्तान पुग्नुभएका अमेरिकी रक्षा मन्त्रीसँग उहाँले यस विषयमा केही कुरा गर्नुभएन।
उता अफगान सरकारले त्यहाँ सशस्त्र विद्रोह गरिरहेका तालिवानहरूसँग शान्तिवार्ताको तयारी गरिरहेको बताए पनि त्यसको ठोस प्रगतिका बारेमा भने केही भनेको छैन। एएफपी
|