एक गाउँ एक स्टेचर कार्य सुरू
धुन्चे (रसुवा), ३० मंसिर। बिरामीलाई सहज रूपमा अस्पताल पुर्याउन सहयोग पुर्याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले गाउँगाउँमा स्टेचर वितरण गरेको छ।
रेडक्रस शाखाका सभापति बाबुलाल तामाङका अनुसार जिल्लाभित्र रहेका १७ वटा मावि तथा उमाविलाई प्राथमिक उपचारका औषधि बाकस र एक/एक थान स्टेचर वितरण गरिएको छ।
विद्यालय क्षेत्रमा राखिने स्टेचरले विद्यार्थी र आसपासका ग्रामीणवासीलाई उपचारका लागि अस्पताल लैजान सहयोग पुग्ने सुन्धरा उच्च माविका रेडक्रस शिक्षक नायक रामबाबु तामाङले बताउनुभयो।
धैवुङको कालिकास्थानमा एक विशेष कार्यक्रमका साथ विद्यालयका अलावा स्थानीय प्रहरी चौकीलाई पनि एक थान स्टेचर प्रदान गरिएको बताइएको छ।
यस्तै मौज्दातमा रहेका बाँकी १९ थान स्टेचर विपद् पूर्वतयारी नीतिअनुरूप ग्रामीण क्षेत्रमा रही मानवीय सेवामा कार्य गर्ने सामाजिक सङ्घसंस्थालाई हस्तान्तरण गरिने बताइएको छ।
भौगोलिक विकट क्षेत्रमा एक गाउँ एक स्टेचरको नीति लिइएको रेडक्रसका कार्यक्रम अधिकृत मुक्ति घिमिरेले बताउनुभयो। रासस
|