September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

सुविधायुक्त प्राकृतिक चिकित्सा अस्पताल निर्माण सुरू

 

 

रत्ननगर (चितवन), ३० मंसिर। चितवनको आध्यात्मिक क्षेत्र देवघाटमा रहेको बागीश्वरी आध्यात्मिक परिषद्को हाताभित्र रु. २० करोड लागतमा सुविधायुक्त प्राकृतिक चिकित्सा अस्पताल तथा अध्यापन अनुसन्धान केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु भएको छ। 

सो अस्पतालका लागि सुरुमा महायज्ञ लगाएर रकमको जोहो गर्ने निर्णय भएको परिषद्का सदस्य नवराज ढकालले बताउनुभयो। आगामी फागुन २३ मा हुने महायज्ञका लागि ५१ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ। चैतबाट औपचारिक रुपमा ओपीडी सेवा सञ्चालन गर्ने  डा. हेमराज कोइरालाले बताउनुभयो। 

विज्ञहरूले  मेडिकल चिकित्सा र योग तथा आयुर्वेद चिकित्सालाई मिलाएर अगाडि बढ्न सके स्वास्थ्य प्रणालीमा नयाँ आयाम थपिने बताएका छन्। उनीहरूले कुनै पनि चिकित्सा प्रणाली एक्लैले स्वास्थ्यमा प्रगति हासिल गर्न नसक्ने भन्दै यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। 

काठमाडौंको वीर अस्पतालका मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले पछिल्लो समयमा मानिसको जीवनशैलीमा आएको परिवर्तनले स्वास्थ्य क्षेत्रमा नयाँ चुनौती थपिँदै गएको भन्दै सबै चिकित्सा पद्धतिको फ्युजन आवश्यक भएको बताउनुभयो। 

उहाँले योग विज्ञान, आयुर्वेद चिकित्सा विज्ञान र आधुनिक मेडिकल विज्ञानलाई एक ठाउँमा राखेर उपचार पद्धति अपनाउन सके स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हुने बताउनुभयो। डा.रेग्मीले विश्वकै वैज्ञानिकहरूले समेत मानिसको जीवनशैलीका कारण नसर्ने रोगको बढोत्तरी भएकाले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो।  

आयुर्वेद चिकित्सा र योग विज्ञानले मानिसलाई स्वस्थ हुन सिकाउने र मेडिकल विज्ञानले उपचार गर्ने भएकोले सबै प्राकृतिक चिकित्सा विज्ञानको महत्त्व उत्तिकै रहेको बताएका थिए। आयुर्वेद चिकित्साशास्त्रका विज्ञ हेमराज कोइरालाले मानिसको जीवनशैली परिवर्तनकै लागि आयुर्वेद र योग विज्ञान आवश्यक रहेको बताउनुभयो। 

यो चिकित्सा प्रणालीअन्तर्गत हावा, पानी, माटो, घाम र आकास गरी विभिन्न पञ्चतत्त्वको सम्मिश्रणबाट उपचार प्रक्रिया तथा विभिन्न थेरापी हुने भएकोले जीवन जिउने कला सिकाउन महत्त्वपूर्ण हुने परिषद्का सदस्य नवराज ढकालले बताउनुभयो।               रासस