एमाओवादी संविधानसभामा जाने
काठमाडौं, १ पुस। एकीकृत नेकपा माओवादी संविधानसभामा जाने भएको छ। चुनावमा धाँधली भएको दाबी गर्दै त्यसको छानबिन नभएसम्म संविधानसभामा नजाने बताउँदै आएको एमाओवादी अन्ततः संविधानसभामा जाने भएको हो। सो पार्टीका नेता पोष्टबहादुर बोगटीले आफ्नो पार्टी पनि संविधानसभामा सहभागी हुने बताएका हुन्। उच्चस्तरीय राजनीतिक समितिमा आफूहरूले उठाएको माग सम्बोधन गर्न सकारात्मक ढङ्गले छलफल चलिरहेकोले संविधानसभामा जाने वातावरण बन्दै गएको बोगटीले बताए।
सोमबार निर्वाचन आयोगको कार्यालय कान्तिपथमा पत्रकारहरूसँग कुरा गर्दै नेता बोगटीले आफ्नो पार्टीले उठाएका माग सम्बोधन गर्ने विषयमा समितिमा छलफल जारी रहेको हुनाले म्याद थपको अनुरोध गरिएको बताए। एमाओवादीले समानुपातिक सभासदको नामावली बुझाउँछ कि बुझाउँदैन भनेर पत्रकारहरूले सोधेको प्रश्नमा बोगटीले भने, –'एमाओवादीे सूची बुझाउने भएरै यहाँ आएको हो।'
|