खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न
भक्तपुर, १ पुस। नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काठमाडौं–दैलेख सम्पर्क समितिको आयोजनामा नेक्राविसङ्घको स्थापना दिवसको अवसरमा 'विद्यार्थी जीवनमा राजनीतिको महत्त्व' विषयक खुला वक्तृत्त्वकला प्रतियोगिता कार्यक्रम प्रभात ई. उमाविमा हालै सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेमकिपाका केन्द्रीय सदस्य तर्क बडुवालले पूँजीवादी शासक दलहरूले विद्यार्थीहरूमा राजनीतिप्रति वितृष्णा फैलाएको बताउनुभयो।
पूँजीवादी सामाजिक सयन्त्रमा काम गरी खाने वर्गलाई बाँच्न कठिन भएकोले सम्पूर्ण युवा–विद्यार्थीहरूले पूँजीवादका काला कर्तुतको बारेमा जनतालाई सचेत र सङ्गठित पार्नुपर्नेमा जोड दिनुभयो।
नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले विद्यार्थीहरू शिक्षित वर्ग भएकाले श्रमजीवी जनतालाई राजनीतिप्रति सचेत गराउन विद्यार्थीले भूमिका खेल्नुपर्ने बताउनुभयो।
उहाँले विद्यार्थीहरू देश र जनताको पक्षमा काम गर्न तल्लीन हुनुपर्ने बताउनुभयो। नेक्रायुसङ्घका केन्द्रीय सदस्य रमेश आचार्य, शिक्षक नारायण तिवारी, हर्कबहादुर शाहीले पनि बोल्नुभएको थियो।
प्रतियोगितामा पूजा खड्का प्रथम, खुमसागर भण्डारी र प्रेमबहादुर शाही द्वितीय, हृदय दाहाल तृतीय र नरेशबहादुर शाही सान्त्वना हुनुभयो। पद्म थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गणेश थापाले पनि बोल्नुभएको थियो।
|