मौसम गहनाको
भक्तपुर, १ पुस। यतिबेला राजधानीलगायतका सहरहरूमा रहेका गहना पसलमा निकै चहलपहल बढेको पाइन्छ। विवाहको सिजन भएकोले नयाँ–नयाँ डिजाइनका गहना खोज्नेहरूको यो चहलपहललाई सुनको बढ्दो मूल्यले पनि खासै प्रभाव पार्न सकेको छैन। भक्तपुरका एक सुन व्यापारी बताउनुहुन्छ, 'यो गहना कारोबार हुने सिजन हो।'
विवाहमा दुलहीका लागि सुनको गहना अति आवश्यक मानिन्छ। विवाहमा सरिक हुन जाने महिलाहरू पनि आफ्नो पहिरनअनुसारको गहना लगाउन रुचाउने हुँदा जुनसुकै उमेर समूहका महिलाले यतिबेला गहना खोज्ने बताउनुहुन्छ, आर. के. ज्वेलर्सका धर्मराज शाक्य।
कस्तो पहिरनमा कुन किसिमको गहना सुहाउँछ भन्ने कुरामा अहिलेका महिलाहरू सचेत हुँदै गएको पाइन्छ। अहिले महिलाहरू जुनसुकै पहिरन तथा मौसममा एकै किसिमको गहना लगाउन रुचाउँदैनन्। सुभद्रा घिमिरे बताउनुहुन्छ। –'साडी एवम् कुर्तासँग त्यसको डिजाइनअनुसार भिन्न भिन्न किसिमको गहना लगाउनुपर्छ। विगतमा अनुहारको सौन्दर्य नै ढान्ने गरी गहना लगाइयो।
आफूलाई सुहाउने होस् वा नहोस् धेरैभन्दा धेरै गहना लगाउनुमा गौरव गर्थे महिलाहरू। अहिले भने अवस्था फेरिएको छ। अहिले साना तर चिटिक्क परेका गहना लगाउन रुचाउँछन् आधुनिक महिलाहरू।
– प्रशिक्षार्थी, रिमा घिमिरे
|