बङ्गलादेशमा विरोध जारी
ढाका, १ पुस। बङ्गलादेशमा महिनौंदेखि दिनहुँजसो जारी विरोध प्रदर्शन सोमबार पनि चालू रह्यो।
बङ्गलादेशको मुस्लिम नेता क्वादर मुल्लालाई सन् १९७१ मा स्वतन्त्रता युद्धमा आमहत्या गरेको आरोपमा मृत्युदण्ड दिइएपछि इस्लामी समर्थकहरूले विरोध प्रदर्शन जारी राखेका हुन्।
विरोधमा उत्रिएका मुस्लिम दलका कार्यकर्ताहरूले सोमबार पनि सत्ताधारी दल र तिनका नेता कार्यकर्ताको घरमा समेत आगजनी गरेका छन्। विरोधको क्रममा प्रहरीले हस्तक्षेप गर्दा आइतबार छ व्यक्तिको मृत्यु भएको थियो।
इस्लामी समर्थकहरूले जमात–ए–इस्लामी दलका वरिष्ठ नेता मुल्लालाई मृत्युदण्ड दिएको विरोधमा राष्ट्रव्यापी रूपमा प्रदर्शन गरिरहेका छन्।
सरकारी प्रवक्ता हबिबुर रहमानले आइतबार प्रदर्शनकारीले करिब २० घरमा आगो लगाइदिएको बताए।
गत बिहीबार मुल्लालाई मृत्युदण्ड दिइएपछि जमात–ए– इस्लामिकका कार्यकर्ता तथा प्रहरी र सत्ताधारी अवामी लिगका समर्थकबीच भएका झडपमा पच्चीस व्यक्तिको मृत्यु भइसकेको छ। यस आन्दोलनमा परी सयौं जना घाइते भएका छन्।
यसैबीच बङ्गलादेशको सरकारले नयाँ निर्वाचनको घोषणा गरिसकेेको छ। वर्तमान प्रधानमन्त्री शेख हसिनाले राजिनामा नदिएसम्म प्रतिपक्षी बङ्गलादेश नेसनालिस्ट पार्टी तथा उसका १७ सहयोगी दलले निर्वाचन बहिष्कार गर्ने बताएका छन्।
तर सत्ताधारी अवामी लिग भने निर्वाचन गराउने दृढतामा देखाउँदै आएको छ। निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ र गत शुक्रबारदेखि नै उम्मेदवारी दर्ताको काम पनि सुरु भएको छ।
|