|
लागूऔषधविरुद्ध प्रहरी अप्रेसन प्रभावकारी बन्दै
नेपालगञ्ज, २ पुस। मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले लागुऔषध ओसारपसार, बिक्री वितरण तथा सेवन नियन्त्रणका लागि यस क्षेत्रमा 'अप्रेसन क्लिन्जिङ इलिगल ड्रग्स' अभियान सञ्चालन गरेको छ।
सो अभियान सञ्चालनपछि हालसम्म यस क्षेत्रअन्तर्गतका जिल्लामा प्रहरीले ठूलो मात्रामा ब्राउनसुगर, चरेस लगायतका लागूऔषध बरामद गर्नुका साथै तस्करी तथा सेवनमा संलग्नहरूलाई पनि पक्राउ गर्न सफल भएको छ।
भेरी अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मधुप्रसाद पुडासैनीका अनुसार एक साता अवधिमा प्रहरीले बर्दिया जिल्लाबाट १२ किलो, दाङबाट पाँच किलो २०० ग्राम र बाँके जिल्लाबाट आठ किलो ५०० ग्राम लागूऔषध चरेस बरामद गरेको छ। त्यस अवधिमा प्रहरीले लागूऔषधको कारोबार गर्ने भीमबहादुर खत्री, विष्णु बुढा, कुलबहादुर रावत र ओमप्रकाश शर्मालाई पनि पक्राउ गरेको जनाएको छ। मध्यपश्चिमको सल्यान, जाजरकोट, दैलेख, रुकुममा फल्ने गाँजा पातबाट प्रशोधन गरी तयार गरिएको चरेस तस्करहरूले भारतका विभिन्न सहरमा बिक्री गर्ने गरेको प्रहरी वरिष्ठ उपरीक्षक पुडासैनीले बताउनुभयो। प्रहरीले पछिल्लो पटक आइतबार राति बाँके जिल्लाको पिपरीमा बरामद गरेको आठ किलो ५०० ग्राम चरेस र आरोपी बुढा तथा शर्मालाई सोमबार यहाँ पत्रकारसम्मेलन गरी सार्वजनिक गरेको छ। रासस
|