डाक्टर नहुँदा शवपरीक्षण भएन
सोलुखुम्बु, २ पुस। जिल्ला अस्पताल फाप्लुमा डाक्टर नहुँदा शवपरीक्षण गर्न समस्या भएको छ। भएको एकजना डाक्टर पनि तालिममा गएपछि शवपरीक्षण गर्न समस्या भएको हो। नेले– ७ की ३० वर्षीया पुटीमाया शेर्पालाई मृत अवस्थामा भेटिएपछि शवपरीक्षण गर्न सोमबार जिल्ला अस्पताल फाप्लुमा ल्याइए पनि डाक्टर नभएपछि अझै शवपरीक्षण हुन सकेको छैन। सोमबारनै काँकु– ८ की ५९ वर्षीय जनमाया राई पनि झुण्डिएको अवस्थामा भेटिएकाले शवपरीक्षण गर्न जिल्ला अस्पताल फाप्लु ल्याइँदै गरेको प्रहरी नायब उपरीक्षक बद्रीविक्रम थापाले बताउनुभयो।
भएको एक जना डाक्टर २० दिनअघि नै ४५ दिने तालिममा धरान गएपछि जिल्ला अस्पताल फाप्लु अहेबको भरमा सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका नारायण तामाङले बताउनुभयो।
“यहाँ आउने सबै डाक्टर सरकारी छात्रवृत्तिमा पढेर आएका हुन्, त्यसैले उनीहरू पढ्दा दुई वर्षसम्म सरकारले खटाएको क्षेत्रमा गएर काम गर्छु भनेका हुन्छन्, त्यस्तै डाक्टर मात्र सोलुखुम्बु आउने गरेका छन्” जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका नायब सुब्बा हेटनारायण रम्तेलले भन्नुभयो। “एकै पटक दुईटा शवपरीक्षण गर्नुपर्ने भएकाले छिमेकी जिल्ला ओखलढुङ्गाको डाक्टर लिन म आज त्यसतर्फ जाँदैछु, भोलि डाक्टर लिएर आएपछि मात्र बेलुकीतिर परीक्षण हुन्छ होला” नायब सुब्बा रम्तेलले थप्नुभयो।
सोलुखुम्बु जिल्लाको लागि यस्तो घटना यो पहिलो भने होइन। बेलाबेलामा यहाँको जिल्ला अस्पतालमा डाक्टर नहुँदा छिमेकी जिल्लाका डाक्टरलाई गुहारी शवपरीक्षण गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय स्रोतले बतायो।
|