गोप्य जानकारी बटुल्ने एनएसएको काम असंवैधानिक
लण्डन, ३ पुस। संयुक्त राज्य अमेरिकामा, एकजना सङ्घीय न्यायाधिशले, त्यहाँको एउटा गुप्तचर निकाय एनएसएले गर्ने गरेको फोन र आवाजहरूको डेटा सङ्कलनलाई गैरसंवैधानिक भनेका छन्।
संयुक्त राज्य अमेरिकाको एउटा गुप्तचर निकाय–एनएसएले– मानिसहरूले गर्ने टेलिफोन कल र इमेलहरूबाट डेटा सङ्कलन गर्ने कार्य कुनै सिलसिला वा मापदण्ड वा आधारविना हुने गरेको ती न्यायाधिश रिचर्ड लियोनले बताएका छन्।
त्यस्तो कुनै निश्चित मापदण्डविना हचुवा तवरले गरिने सङ्कलन कार्य संयुक्त राज्य अमेरिकाको संविधानको चौथो संशोधनका विपरित हुने ती न्यायाधिशले आफ्नो फैसलामा उल्लेख गरेका छन्।
उनका अनुसार, संविधानको त्यस्तो प्रावधानअनुसार मानिसहरूलाई विनाकुनै उपयुक्त आधार खानतलासी गर्नु वा कब्जामा लिनु हुंदैन।
यो फैसलाका विरुद्ध पुनरावेदन पर्ने निश्चित जस्तै ठानिएको छ। अमेरिकी न्याय मन्त्रालयले सङ्घीय न्यायाधीशको फैसलाको समीक्षा गरिरहेको बताएको छ।
एनएसएका एकनजा भूतपूर्व कानूनी अधिकारी स्टेवार्ट बेकरले बीबीसीसँग कुरा गर्दै यो फैसला सरकारका लागि समस्याकारी हुनसक्ने बताएका छन्।
एनएसएका एकजना भूतपूर्व कर्मचारी एडवर्ड स्नोडन रुसमा अस्थायी शरणमा बसिरहेका छन्।
सङ्घीय अदालतको फैसला, एनएसएले गोप्य तरिकाले मानिसहरूको फोनकल र इमेलबाट डेटा सङ्कलन गरिरहेका छ भन्ने जानकारी सार्वजनिक गरिदिएका व्यक्तिलाई माफी दिने कि नदिने भन्ने बारेको बहसलाई ह्वाइट हाउसले अस्वीकार गरिदिएको केहि समयपछि नै आएको छ।
अमेरिकी राष्ट्रपतीय कार्यालय ह्वाइट हाउसको प्रवक्ता जे कार्नीले, एनएसएका भूतपूर्व कर्मचारी एडवर्ड स्नोडनले अपराधका अभियोग बेहोर्नुपर्ने र उनले अमेरिका फर्केर कानुनको सामना गर्नुपर्ने बताएका थिए।
गुप्तचर निकायले मानिसहरूको फोन डेटा सङ्कलन गर्ने गरेको भन्ने गोप्य जानकारी, एनएसएका भूतपूर्व कर्मचारी एडवर्ड स्नोडनले सार्वजनिक गरिदिएपछि थाहा हुन आएको हो। |