|
चीनद्वारा ड्रोन झार्नसक्ने लेजरको विकास
बेइजिङ, १८ कार्तिक। चीनले तल्लो तहमा उड्ने चालकविहीन विमान झार्नसक्ने उच्चरूपमा सही लेजर हतियार प्रणाली विकास गरेको समाचार सिन्ह्वा समाचार संस्थाले दिएको छ। यस हतियार प्रणालीले दुई किलोमिटरको दूरीमा उड्ने अनेकौं साना विमानलाई पत्ता लगाएको पाँच सेकेन्डमा झार्नसक्ने जानकारी सिन्ह्वाले दिएको छ। यस समाचार संस्थाले यसका लागि चाइना एकेडेमी अफ इन्जिनियरिङ फिजिक्सलाई उद्धरण गरेको छ। यो संस्था पनि उक्त हतियार विकासमा संलग्न रहेको बताइएको छ। सिन्ह्वाले सैनिक रङ्ग लगाइएको धातुको बक्सा तथा सानो चालकविहीन विमानको टुक्राका तस्बिर वितरण गरेको छ। सिन्ह्वाले यस प्रणालीले दुर्गम क्षेत्रमा सुरक्षा कायम गर्न ठूलो भूमिका खेल्ने र यसले अनधिकृत रूपमा तस्वीर लिने समस्या समाधान गर्नसक्ने उल्लेख गरेको छ। यो हतियार प्रणाली ५०० मिटरको उचाइसम्म प्रभावकारी भएको र त्यसले ५० मिटर प्रतिसेकेन्डको दुरीमा उड्ने विमानलाई नियन्त्रण गर्नसक्ने जानकारी दिइएको छ। चाइना जियुयुआन हाइटेक इक्विपमेन्ट कर्पका व्यवस्थापक यी जिनसङले हाल मानवविहीन विमानहरू तुलनात्मक रूपमा सस्तो र सजिलै प्रयोग गर्नसकिने भएको र यसलाई आतङ्कवादीले प्रयोग गर्न सक्ने भएको बताउनुभयो। उहाँको संस्था उक्त एकेडेमीअन्तर्गत काम गर्छ। उहाँले यस्ता विमानको खोजी गर्ने काम हेलिकप्टरको भएको तर यस्तो कार्य सही रूपमा गर्न नसकिए त्यसको क्षति अनपेक्षित हुनसक्ने बताउनुभयो। सीएईपीले यस प्रणालीलाई गाडीमा राख्नसकिने र त्यसले ३० भन्दा बढी चालकविहीन विमानलाई प्रहार गर्नसक्ने जानकारी दिएको छ। यस संस्थाले हालको परीक्षणमा सतप्रतिशत नतिजा प्राप्त भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ। यो संस्था बढी क्षमता भएको र बढी क्षेत्र ओगट्ने यस्तै हतियार प्रणाली विकास गर्न प्रयासरत रहेको बताइएको छ। एएफपी
|