|
बेइजिङ्गमा एपेक शिखर सम्मेलन सुरु
बेइजिङ्ग, २० कार्तिक। एशिया तथा प्रशान्त आर्थिक सहयोग सङ्गठन –एपेकको अन्तिम वरिष्ठ अधिकारीहरूको बैठक बुधबारबाट बेइजिङ्गमा सुरु भएको छ। यो बैठकसँगै एपेक शिखर सम्मेलन सप्ताह पनि सुरु भएको छ। वरिष्ठ अधिकारीहरूको दुईदिने बैठकमा उद्घाटन समारोह, पूर्ण बैठक र समापन समारोहजस्ता कार्यक्रम समावेश छन्। यो बैठकलाई आगामी दस र एघार तारिख सुरु हुने एपेकको बाइसौं औपचारिक शिखर सम्मेलनको महत्त्वपूर्ण तयारीका रुपमा पनि हेरिएको छ। एपेक एशिया तथा प्रशान्त क्षेत्रको सर्वोच्च, सबभन्दा बढी क्षेत्र ढाकेको, सबभन्दा ठूलो प्रभाव पारेको, सबभन्दा विकसित प्रणाली रहेको आर्थिक तथा सहयोग सङ्गठन हो। हाल एपेकमा एक्काइसवटा सदस्य मुलुक रहेका छन्। यसैबीच चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता हुङलैले नयाँ स्थितिमा चीन अमेरिका द्वीपक्षीय, क्षेत्रीय, विश्वस्तरीय सहयोग बढाएर चीन–अमेरिका ठूलो मुलुक सम्बन्धलाई थप प्रगति गर्दै दुई देश तथा विश्वका जनतालाई फाइदा पुर्याउनुपर्ने विचार व्यक्त गरेका छन्। बेइजिङ्गमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हुङलैले उक्त कुरा बताउनुभएको हो। त्यसको अघिल्लो दिन अमेरिकी विदेशमन्त्री जोन केरीले चीन–अमेरिका सम्बन्धबारे सम्बोधन गरेका थिए। त्यसबारे पत्रकारले चीनको धारणा माग गरेकोमा प्रवक्ता हुङले चीन–अमेरिका दौत्य सम्बन्ध स्थापना भएको ३५ वर्षको इतिहासबाट चीन र अमेरिकाबीचको महत्त्वपूर्ण साझा हित र फराकिलो सहयोगी क्षेत्र रहेको देखिएको बताए। उनले नयाँ स्थितिमा द्वीपक्षीय, क्षेत्रीय, विश्व स्तरीय सहयोगलाई बढाएर एशिया तथा प्रशान्त क्षेत्रको शान्ति, स्थिरता र समृद्धिलाई अघि सार्नुपर्ने बताए। अमेरिकी राष्ट्रपति बाराक ओबामाले बेइजिङ्गको एपेक शिखर सम्मेलनमा उपस्थित भएर चीनको राजकीय भ्रमण गर्ने अवसरलाई पनि चीनले स्वागत गरेको उनले स्पष्ट पारे। |