|
सन् २०१५ मा भनेजुयलाको अर्थतन्त्र राम्रो हुने
काराकस, २६ कार्तिक (एभीएन)। आर्थिक क्षेत्र तथा अर्थतन्त्रका लागि भेनेजुयाली उपराष्ट्रपति एवं अर्थ तथा सार्वजनिक बैङ्क मन्त्री 'रोडोल्फो मार्काे टोरेसले २०१५ मा भेनेजुयलाको वित्तीय संरचनाले राम्रो भूमिका खेल्ने र अर्थतन्त्र राम्रो हुने दाबी गर्नुभएको छ। स्थानीय टेलिभिजनमा अन्तर्वार्ता दिंदै उपराष्ट्रपति टोरेसले बहुर्राष्ट्रिय कम्पनीहरू र भेनेजुयलाका दक्षिणपन्थीहरूले चाहे पनि भेनेजुयलाको अर्थतन्त्र मन्दीमा नजाने बताउनुभयो। विश्व तेलको मूल्यमा गिरावट र भेनेजुयाली अर्थतन्त्रमा त्यसको प्रभावबारे सोधिएको प्रश्नमा २०१५ को बजेट कच्चा तेलको मूल्य ६० डलर प्रतिव्यारेलमा हिसाब गरिएको र कच्चा तेलको वास्तविक मूल्य २०१५ मा ७० र ७१ डलरको बीचमा रहने हुनाले नाफा नै देखिने बताउनुभयो। त्यसबाहेक भेनेजुयलाले बोलिभारियाली क्रान्ति थालनी भएको विगत १५ वर्षदेखि रिजर्भ कोष निर्माण गर्दै आएको र त्यसको परिचालन र लगानीले २०१५ आर्थिक हिसाबले राम्रो हुने निश्चित रहेको उहाँले बताउनुभयो। उपराष्ट्रपति टोरेसले नयाँ बजेटमा विदेशी मुद्रालाई उत्पादक उद्योग, त्यसको सञ्चालन र वृद्धिमा लगाइएको र आन्तरिक उत्पादन प्रणालीलाई सुढृद गर्न कोषको रकम परिचालन गरिएको पनि बताउनुभयो। 'राष्ट्रपति निकालेस माडुरोले अर्थतन्त्रमा फरक दृश्य सिर्जना गर्न यसअघि नै आवश्यक निर्देशन दिइसक्नुभएको छ। हाम्रो अगाडि निकै राम्रो भविष्य छ।' उहाँले भन्नुभयो। अन्तर्वार्तामा क्रममा उपराष्ट्रपति टोरेसले मुद्रा सङ्कुचन, सतही दर र तेलको मूल्यजस्ता अर्थतन्त्रका सङ्केतहरूलाई २०१५ को बजेटमा उच्च महत्त्व दिइएको बताउँदै उपराष्ट्रपति टोरेसले राज्य नियन्त्रित तेल उद्योग पीडीभीएसलगायत तेल उद्योगहरूले उत्पादन बढाउनुका साथै अरु आन्तरिक उपभोग्य वस्तु उत्पादक कम्पनीहरूले उत्पादन वृद्धि गरेर कूलगार्हस्थ उत्पादनमा योगदान पुर्याइसकेको बताउनुभयो। उहाँले राष्ट्रिय विकास कोष, चिनियाँ कोष र राजनीतिक रिजर्भ कोषहरूले आन्तरिक वित्तीय पुनर्संरचनामा लगाइएको र सरकारी बजेटले आगामी बजेटमा परिपुरक व्यवस्था गरेको बताउँदै त्यसले गर्दा अर्थतन्त्रको विकास र आर्थिक वृद्धि कुनै हालतमा पनि ऋणात्मक नहुने उल्लेख गर्नुभयो। 'भेनेजुयलाले आफ्ना अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई बोलिभारियाली क्रान्तिको १५ वर्षमा पूरा गर्न र तिर्नुपर्ने रकम तिर्न बाँकी नराखेको हुनाले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले भेनेजुयलामा निष्पि्कक्री भएर लगानी गर्न सक्नेछन्।' भन्नुभयो।
|