|
अठार लाखको योजना बनी नसक्दै भत्किन थाल्यो
विराटनगर, २७ कार्तिक। विराटनगर उपमहानगरपालिकाले निर्माण सुरु गरेको पशु वधशालाको निर्माण कार्य रोकिंदा भएको संरचना पनि भत्कन थालेका छन्। निर्माणलाई निरन्तरता दिन रकम अभाव भएकाले निर्माण कार्य रोकिएको विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले बताउनुभयो। निर्माण कार्य रोकिंदा निर्माण भइसकेका संरचना पनि भत्कन थालेका छन्। आव २०६५/०६६ मा सरकारबाट बजेट निकासा भएपछि विराटनगर उपमहानगरपालिका– ११ स्थित हाटखोलामा वधशाला निर्माण कार्य सुरु गरेको थियो। बधशाला निर्माणमा उपमहानगरपालिकाको समेत रु. १८ लाख खर्च भइसकेको छ। उपमहानगरपालिकाको पशुपक्षी महाशाखाका प्रमुख हीरालाल यादवले त्यसबेला सरकारले बजेट छुट्याएकोले काम सुरु गरेको तर हाल रकम अभाव भएको बताउनुभयो। विराटनगर उपमहानगरपालिकामा दर्ता तथा अनुमति लिएका १६० वटा मासु पसल सञ्चालित छन्।
|