|
प्ा्रतीक्षालयबाट दुई बालबालिकाको उद्धार
रत्ननगर (चितवन), २७ कार्तिक। भरतपुरस्थित एक प्रतीक्षालयबाट दुई बालबालिकाको उद्धार गरिएको छ। भरतपुरको विमानस्थल अगाडिको प्रतीक्षालयमा लामो समयदेखि बस्दै आएका उनीहरूको उद्धार गरिएको हो। उनीहरूमध्ये बालकलाई सडक बालबालिका पुनः स्थापना केन्द्र हाम्रो घर र बालिकालाई आदर्शगृहमा राखिएको छ। उद्धार गरिएकामा केशव धमलाका बालबालिका ९ वर्षका धिरज र ७ वर्षकी रेनुका रहेको आदर्शगृहकी कार्यकारी निर्देशक मीना खरेलले जानकारी दिनुभयो। विगत ५ महिनादेखि उनीहरू उक्त प्रतीक्षालयमा बस्दै आएको बताइएको छ। ओखलढुङ्गाका केशव धमलाकी पत्नी सीतामाया प्रजा थलिएकी छिन्। जसका कारण उनीहरू विगत लामो समयदेखि अलपत्र अवस्थामा थिए। चितवनका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकले उनीहरूले संरक्षण पाएको भन्दै यस्ता बालबालिका सहयोग आवश्यक भएको बताउनुभयो। हाम्रो घरमा विगत लामो समयदेखि सडक बालबालिकाको पुनः स्थापन हुँदै आएको छ भने आदर्शगृहमा हिंसा प्रभावित महिला तथा बालिका बस्दै आएका छन्।
|