|
अल कायदाआबद्ध नुस्रा फ्रन्टका बीस लडाकूको मृत्यु
दमासकस २७ कार्तिक,। सिरियाको राजधानी दमासकसदेखि उत्तरतर्फ पर्ने क्षेत्र अल कालामोअनमा सिरियाली सैनिकले अल कायदासँग आबद्ध नुस्रा फ्रन्टका आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा कम्तीमा २० लडाकूको मृत्यु भएको सिरियाली टेलिभिजन च्यानल पान अरब अल मयाद्दिनले बुधबार जानकारी दिएको छ। यस कारबाहीको क्रममा अन्य ३० जना आतङ्ककारी घाइते भएका पनि जनाइएको छ। बुधबार बिहान सबेरै पनि सिरियाको मध्य प्रान्त हामाको बाहिरी इलाकमा सिरियाली सैनिकले गरेको कारबाहीमा कम्तीमा ४० लडाकूको मृत्यु भएको थियो। हामादेखि बाहीरी इलाकामा पर्ने सलामिया सहरमा सैनिकले एम्बुस आक्रमण गरी ती आतङ्ककारीलाई मारेको सिरियाली टेलिभिजन च्यानल पान अरब अल मयाद्दिनले जानकारी दिएको थियो। बुधबार नै क्रिश्चियन बलियो प्रभाव रहेको हामाको मार्देह सहरमा अवस्थित एक विद्यालयमा संदिग्ध आतङ्ककारी समूहले गरेको मोर्टार आक्रमणमा कम्तीमा सात बालबालिकाको मृत्यु भएको राज्यद्वारा सञ्चालित साना समाचार समितिले जनाइएको छ। सिरियाली सैनिकले हालैको केही दिनयता नुस्रा फ्रन्ट लडाकू विरुद्ध हामा र अल कालामोअनमा भिषण आक्रमण सुरु गरेको जनाइएको छ। सिन्ह्वा
|