September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

इबोला महामारीबाट पाँच हजारभन्दा बढीको मृत्यु

बामाको (माली), २७ कात्तिक। इबोला भाइरस सङ्क्रमणबाट हालसम्म पाँच हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको राष्ट्रसङ्घीय विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बुधबार  जनाएको छ।
    पश्चिम अफ्रिकी मुलुकहरूबाट विस्फोट भएझैं फैलिएको यस प्राणघातक रोगले थप मानिसको ज्यान लिनसक्ने खतरा बढेको पनि उक्त सङ्गठनले बताएको छ।
    हालसम्म रेकर्ड गरिएको तथ्याङ्कमा यो नै सबभन्दा विशाल र कहालीलाग्दो भएको बताइएको छ।
    यसको सङ्क्रमणबाट बढी पश्चिम अफ्रिकाका पीडित भएका लाइबेरिया, गिनिया र सियरा लियोनमा भने नराम्ररी थला पर्नेको सङ्ख्या १४ हजार नाघिसकेको जनाइएको छ।
    विश्व स्वास्थ्य सङ्गठनका स्वास्थ्यकर्मीले यस सङ्क्रमणविरुद्ध सङ्घर्षरत रहेको र यसमा थोरै भएपनि सफलता हासिल गरिरहेको जनाइएको छ।
    सङ्क्रमणबाट अत्यन्त प्रभावित राष्ट्र सियरा लियोनको करिब ४० प्रतिशत रोगीलाई साधारण जनसमुदायबाट टाढा राखी उपचार गरिरहेको पनि सङ्गठनद्वारा प्रकाशित प्रतिवेदनमा जनाइएको छ।
    हालसम्म गरिएको बहुर्राष्ट्रिय सहयोग अझै पर्याप्त नभएको र रोगबाट मुक्ति पाउन निरन्तर प्रयास, लगानी र धैर्यताको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। एपी