September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

भारतमा परिवार नियोजन कार्यक्रम देशैभरि लागू


    बिलासपुर (भारत) २८ कार्तिक। भारत सरकारले परिवार नियोजनको स्थायी साधन (बन्ध्याकरण) कार्यक्रम ग्रामीण एवम् गरिब महिलामा मात्र केन्द्रित भएको भन्ने समाचारको खण्डन गरेको छ।
    बन्ध्याकरणका लागि आयोजना गरिएको शिविरमा भएको चिकित्सकको लापरबाहीका कारण गत शनिबार कम्तीमा पनि १३ जना महिलाको ज्यान गएको समाचारपछि सरकारले सो धारणा राखेको हो। 
    भारतका स्वास्थ्य मन्त्री जगतप्रसाद नादाले उक्त दुर्घटनापछि भारत सरकारले गरिब महिलामा मात्र सो कार्यक्रम केन्द्रित गरिएको भनी आएको समाचारको खण्डन गर्नुभएको हो।
    उहाँले शुक्रबार भन्नुभयो– यी सबै गलत अवधारणा हुन, यो कार्यक्रम सरकारले देशैभरी र नागरिकको चाहना बमोजिम नै सुरु गरी सञ्चालन गरिरहेको छ। 
    भारतीय राज्य छत्तीसगढमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा उक्त घटना भएको बताइएको छ। उक्त शिविर सो राज्यको सरकारी स्वास्थ्य अधिकारीहरुले नै आयोजना गरेका हुृन्।
    उक्त कार्यक्रममा सहभागी भएकामध्ये अरु पनि दर्जनौं महिला गम्भीर रुपमा बिरामी परेका छन्। परिवार नियोजनाका क्रममा भएको शल्यक्रियामा लापरबाही हुँदा ती महिलाको मृत्यु भएको समाचारमा जनाइएको छ।
    भारतीय सरकारको जनसङ्ख्या नीति बमोजिम उक्त शिविरको आयोजना गरिएको हो। स्थायी परिवार नियोजनमा सहभागी भएका महिलाले एक हजार ४०० भारतीय रुपैयाँ पाउने गर्छन्।
    सोही सुविधाका लागि गरिब र ग्रामीण क्षेत्रका महिला बन्ध्याकरणका लागि आउने गरेका भन्दै सरकारको उक्त नीतिको विरोध भएका बेला मन्त्री नादाले त्यसको खण्डन गर्नुभएको हो।   एएफपी