|
इबोलाः तीनथरी उपचारको परीक्षण गरिने
पेरिस, २९ कार्तिक। एउटा अन्तर्राष्ट्रिय स्वास्थ्य परोपकारी संस्था, मेद्सां सं फ्रोंतिएले इबोलाबाट प्रभावित पश्चिम अफ्रीकी क्षेत्रमा आफूले सञ्चालन गरेका स्वास्थ्य केन्द्रहरूमा इबोलाविरुद्धको सम्भावित तीन थरी प्रयोगात्मक उपचारको परिक्षण गर्ने जनाएको छ। इबोलाग्रस्त बिरामीहरूको उपचारमा अरु कुनै निकायभन्दा बढी अनुभवप्राप्त उक्त परोपकारी संस्थाले भनेको छ यि– नयाँ परिक्षणहरूले इबोला लागेका बिरामीहरूलाई अन्ततः उपचार पाउन सक्ने वास्तविक आशा जगाउने छन्। एमएसएफले परिक्षण गर्न लागेको ती तीनथरी उपचारविधिमध्ये दुईवटा विश्व स्वास्थ्य सङ्गठनले यसअघि नै उपयोगी हुनसक्ने भनी पहिचान गरेका एन्टीभाइरल औषधिहरू हुन्। तेस्रो चाहिं इबोला लागेर बाँचेकाहरूको रगतबाट लिइएको प्लाज्माको प्रयोग हो जसलाई विश्व स्वास्थ्य सङ्गठनले अनुमोदन गरेको छ। यी सबै परीक्षणहरूको मूल उद्देश्य सरल छ जसरी भएपनि बिरामीलाई पहिलो १४ दिनसम्म जीवित राख्ने। एमएसएफका बर्टान्ड ड्रागेजले पहिले परिक्षण नगरिएका औषधि वा उपचार विधिको प्रयोगलाई एउटा असाधारण कदम भनेका छन्। उनले भने, 'यो एउटा महत्त्वपूर्ण समय हो र यो यसअघि कहिल्यै नभएको अन्तर्राष्ट्रिय साझेदारी हो। तर हामी हाम्रासामु रहेका बिरामीहरूलाई आशावादी बनाउन चाहन्छौं। २१ औं शताब्दीमा पनि इबोला जस्तो रोगबाट बिरामीहरूको मृत्यु भइरहनु कदापी स्वीकार्य अवस्था होइन।' हालको इबोला महामारीमा, बिरामीहरूको ज्यान जाने दर ५० देखि ८० प्रतिशतको बीचमा छ। यो हतार हतारमा गर्न लागिएको औषधि र उपचार विधिको परिक्षण सकेसम्म बढीभन्दा बढी बिरामीहरूको जीवन जोगाउन सकयोस् भन्नका लागि हो। ब्रिटेन, फ्रान्स र बेल्जियमका चिकित्सा अनुसन्धानकर्ताहरूले एमएसएफसँग मिलेर पश्चिम अफ्रिकामा रहेका इबोला उपचार केन्द्रहरूमा काम गर्ने छन्। इबोलाका कारण पश्चिम अफ्रीकामा हालसम्म पाँचहजार जनाभन्दा बढीको ज्यान गैसकेको छ। बीबीसी
|