|
याक चौरीसहित जाडो छल्न बेसी झर्दै उपल्लो डोल्पाली
डोल्पा, २ मंसिर। डोल्पाको उत्तरी भेगमा बसोबास गर्ने लामा, भोटे, शेर्पालगायतका बौद्धमार्गी तथा स्थानीयवासी छ महिनासम्म जाडो छल्न बेसी झर्न थालेका छन्। माथिल्लो डोल्पाका छार्का, तिन्जे, मुकोट, साल्दाङ, भिजेर, फोक्सुन्धोलगायतका गाविसमा कार्तिक दोस्रो सातादेखि नै उच्च्ा हिमपात भई अत्यधिक चिसो बढ्ने र मानव जीवन एकदमै कष्टकर हुने भएकोले यो समयमा त्यहाँका बासिन्दा बर्सेनि बेसी झर्ने गर्छन्। यस समयमा ६ महिनाको लागि अस्थायी गासबासको व्यवस्थासहित घरमा पालिएका याक, चौरी, घोडा, खच्चड पशुचौपाया सबै लिएर उनीहरू बेसी झर्ने गरेका छन्। यो समयमा भोटको जिम्मु ल्याएर मैकसँग साटासाटदेखि लिएर चौरी, भेडाका रौंबाट राडीपाखी, गलबन्दी, पटुका, गलैंचालगायतका सामान पनि बुन्ने र बिक्री वितरण गर्ने फोक्सुन्धोकी स्थानीयवासी मिक्मा केसीले बताउनुभयो। रासस
|