September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

निजी अस्पतालमा जाने चिकित्सकमाथि कारबाही हुने

रत्ननगर (चितवन), २ मङ्सिर। चितवनको भरतपुर अस्पतालले निजी अस्पतालमा काम गर्न जाने चिकित्सकमाथि निगरानी गर्न थालेको छ। 
    अस्पतालको काम नै छाडेर निजी क्लिनिकमा चिकित्सकहरू जाने गरेको गुनासो आएपछि चिकित्सकहरूमाथि निगरानी राख्न सुरु गरेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवराज भुर्तेलले जानकारी दिनुभयो। 
    मध्यान्ह १२ बजे खानाको समय राखेर चिकित्सक जाने गरेको पाइएपछि अहिले बिहान ९ देखि २ बजेसम्म अस्पतालकै काममा व्यस्त हुनुपर्ने नियम बनाइएको र यदि नभएको पाए कारबाही गरिने डा भुर्तेलले बताउनुभयो। मध्यान्ह खाना खाने निहुँमा चिकित्सकहरू निजी क्लिनिकमा गएर बिरामी जाँच्ने गरेका थिए। 
    उहाँले भन्नुभयो – हामी कुनै हालतमा गलत हुन दिंदैनौं, तपाईं पत्रकारहरू सबैको मलाई सहयोग चाहिन्छ, अस्पतालमा धेरै सुधार गर्नेछु। 
    साँझ तोकिएको समयमा पनि चिकित्सकहरू अनिवार्य रुपमा उपस्थित हुनुपर्ने र बोलाएको बेलामा तुरुन्तै आउनुपर्ने नत्र कारबाहीको भागिदार बन्नुपर्ने उहाँको भनाइ छ।
    समयमै उपस्थित हुन चिकित्सकहरूलाई लिखित आग्रहसमेत गरिएको र अब अस्पताल व्यवस्थापन समितिले नै छड्के जाँचसमेत गर्ने अस्पतालले जनाएको छ। अस्पतालमा हाल ४९ जना चिकित्सक छन्। अस्पताल विकास समितिको तर्फबाट २१ जना चिकित्सक राखिएको छ। 
    यसैबीच, अस्पतालले आफ्नो सेवालाई स्तरोन्नतिसमेत गर्ने भएको छ। अस्पतालले हाल चलिरहेको ३०० बाट ५०० शय्या बनाउन प्रक्रिया सुरु गरिएको डा. भुर्तेलले बताउनुभयो।
    अन्य विविध विषयमा समेत सुधार गरेर अस्पतालको सेवालाई चुस्त पार्ने योजना अघि बढाइएको उहाँले जानकारी दिनुभयो। भरतपुर अस्पताल मध्यक्षेत्रकै मध्यमवर्गीय परिवारको उपचार केन्द्र बन्दै आएको छ।