|
तीस प्रतिशत शौचालय प्रयोग गर्नबाट वञ्चित
काठमाडौं, २ मंसिर। सरकारले २०१७ सम्ममा मुलुकलाई खुला दिसामुक्त गर्ने घोषणा गरे तापनि कुल जनसङ्ख्याको ३० प्रतिशत अझै पनि शौचालयको उपयोग गर्नबाट वञ्चित छन्। खानेपानी तथा ढल विकास विभागका महानिर्देशक रामदीप शाहका अनुसार शौचालयको प्रयोग गर्ने ७० प्रतिशत जनसङ्ख्यामध्ये कतिपयले कच्ची चर्पी प्रयोग गरिरहेको बताउनुभयो। विसं २०१७ सम्ममा मुलुकलाई खुला दिशामुक्त गर्ने योजनाअनुसार एक घर एक शौचालयको व्यवस्था गर्ने महानिर्देशक शाहले जानकारी दिनुभयो। पूर्व वातावरण तथा विज्ञानमन्त्री गणेश शाहले शौचालयको अभावले विद्यालय पढ्न जाने विद्यार्थी विद्यालय छाड्न बाध्य भएको अवस्थामा सरकारले एक घर एक शौचालयको योजनालाई तत्काल लागू गर्नुपर्ने बताउनुभयो। उहाँले सार्वजनिक शौचालयको अभावले सहरवासीले मानसिक कष्ट भोग्नुका साथै विभिन्न रोगबाट पीडित हुनुपरेको छ भन्नुभयो। सार्वजनिक शौचालयको व्यवस्था नहुँदा खासगरी कार्यस्थलमा खटिएका ट्राफिक प्रहरी, महिला टेम्पो चालकलाई सबैभन्दा बढी समस्या हुने गरेको देखिन्छ। त्यसैगरी अपाङ्गता भएका व्यक्तिले अपाङ्गमैत्री शौचालयको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन्। विश्व शौचालय दिवस सरोकारवाला सङ्घसंस्थाले नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ।
|