|
प्रदर्शनस्थल खुलाउँदै हङकङका अधिकारी
हङकङ, २ मंसिर। हङकङकका अधिकारीहरूले आन्दोलनको क्रममा विद्यार्थीले कब्जामा लिइराखेको त्यहाँको मुख्य मार्ग खुलाउने काम सुरु गरेका छन्। सो काम त्यहाँको प्रहरीले मङ्गलबार बिहानदेखि नै सुरु गरेको छ। उक्त कामका लागि अधिकारीहरूले हिजोदेखि नै प्रचार गरेको थियो। सडकमा आन्दोलनकारी रहँदा गएको सातहप्तादेखि नै हङ्कङ्को मुख्य बन्द व्यापारका साथै धेरैजसो सरकारी काम र व्यापारमा पनि अवरोध भएको छ। हङकङको मध्यनगरमा उनीहरू सात हप्तादेखि नै रिले अनसन बस्दै आएका छन्। हङ्कङमा प्रजातन्त्रको माग गर्दै उनीहरूले सो आन्दोलन जारी राखेका छन्। सरकारले भने पटक पटकको आग्रह र चेतावनीपछि पनि उनीहरू त्यहाँबाट हट्न नमानेपछि मङ्गलबारदेखि जबरजस्ती हटाउने काम थाल्ने बताएको छ। सो कामका लागि सरकारले ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरेको छ। प्रहरीले मङ्गलबार बिहानदेखि नै माइकिङ गरी प्रदर्शनकारीलाई सडकबाट हटन् सूचना दिइरहेको छ। तर पनि विद्यार्थीहरू हट्न मानिरहेका छैनन्। उनीहरू सरकारले दिएको निर्धारित समयभित्र हट्न नमानेको खण्डमा बल प्रयोग गरेरै भए पनि हटाउने योजना प्रहरीको छ। त्यहाँका विद्यार्थीले विगत महिनादेखि नै प्रजातन्त्रको माग गरी आन्दोलन थालेका हुन्। सो आन्दोलनका कारण हङकङको जनजीवन नराम्रोसँग प्रभावित हुँदै आएको बताइएको छ। एएफपी
|