September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

विद्यालयको बसमा बम आक्रमणः दुईजनाको ज्यान गयो

पेसावर, २ मंसिर। उत्तरपश्चिमी पाकिस्तानमा एक विद्यालयको बसमाथि बम आक्रमण भएको छ। सो आक्रमणमा परी दुई जनाको मृत्यु भएको समाचारमा जनाइएको छ।
    पाकिस्तानी अतिवादीहरूले सो काम गरेको अनुमान गरिएको छ। यद्यपि सो हत्याको जिम्मेवारी भने कसैले लिएको छैन।  
    पाकिस्तानको माथिल्लो कारिम जातीय इलाकामा सो हमलाका कारण अरु कैयौं विद्यार्थी घाइते भएका छन्। माथिल्लो कारिमको निस्टी भन्ने स्थानमा सो हमला भएको थियो।
    सो क्षेत्रमा विगत लामो समयदेखि नै पाकिस्तानकै दुईवटा जातिबीच जातीय द्वन्द्व हुने गरेको छ। मुस्लिमकै सिया र सुन्नीकाबीच त्यहाँ लामो समयदेखि नै हिंसा कायम रहेको छ।
    मङ्गलबार बिहान बालबालिका विद्यालय जाने क्रममा भएको सो बम हमलामा परी एकजना ११ वर्षीय बालकको ज्यान गएको छ।  
    त्यसैगरी सो बम आक्रमणमा परी सो बसका चालक पनि मारिएका छन्। विद्यालयका अनुसार सो बसमा रहेकी अर्की सात वर्षीया बालिकाको अवस्था चिन्ताजनक रहेको छ।  
    सो बसमा भएको बम आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको स्थानीय अधिकारीले जनाएका छन्। उनका अनुसार विद्यालयको बसलाई नै लक्ष्य गरेर बम हमला भएको थियो।  
    बसमा भएको बम आक्रमणका दोषीको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सो हमलामा तालिवानको हात हुनसक्ने जनाएको छ।  
    तर तालिवानहरूले भने यस बारेमा केही बताएका छैनन्। विगतमा पनि यस्ता आक्रमणमा तालिवानको हात रहने गरेको प्रहरीको भनाइ छ। एएफपी