|
कम्बोडियामा चामल पर्व मनाइयो
न्होमपेन्ह, २ मंसिर। कम्बोडियामा मङ्लगबार दोस्रो चामल पर्वको आयोजना भएको छ। आन्तरिक चामललाई प्रोत्साहन गर्ने उद्देश्यले विदेशी उपभोक्ता र पर्यटकको पनि सहभागितामा सो पर्व आयोजना भएको जनाइएको छ। तीन दिनको यस चामल पर्व प्रदर्शनमा विशेष प्रकारको चामल र चामलबाट बन्ने विभिन्न प्रकारका खानाहरू पनि रहेका थिए। विकासशील देशको अर्थतन्त्रमा वृद्धि एवम् गरिबी घटाउनको लागि चामल व्यवसायले ठूलो योगदान गर्ने कम्बोडिया चामल महासङ्घका अध्यक्ष सोक पुथ्ाीभिउथले बताउनुभएको छ। कम्बोडिायाको बासनादार चामल अति प्रख्यात र स्वादिलो रहेको पनि उहाँले बताउनुभएको छ। सन् २०१२ मा इन्डोनेसिया र सन् २०१३ मा हङकङमा भएको विश्व चामल प्रतियोगितामा कम्बोडियाली चामल पुरस्कृत भएको सोकले बताउनुभएको छ। यस चामल पर्वको साथै आगामी बुधबारदेखि दुईदिने विश्व चामल सम्मेलन पनि सुरु हुने कम्बोडिली पर्यटनमन्त्री थोङ्ग कोनले बताउनुभएको छ। कम्बोडियामा ८० प्रतिशतभन्दा बढी कृषक रहेका र गत वर्ष ९४ लाख टन धानको उत्पादन भएको बताइएको छ। सिन्ह्वा |