|
हङकङका प्रदर्शनकारीद्वारा विधान सभाको भवनमा आक्रमण
हङकङ, ३ मंसिर। हङकङका आन्दोलनकारी विद्यार्थीले बुधबार बिहानै त्यहाँको विधान सभाको हलमा आक्रमण गरेको भन्दै उक्त सभाको बैठक स्थगित गरिएको समाचार छ। उक्त विधान सभाको हलको मूलद्वारमा आन्दोलनकारीले हमला गरेका थिए। बिहान भएको सो घटनापछि बैठक स्थगित गरिएको प्रहरीले जानकारी दिएको छ। सो हमलाका कारण उक्त भवनको द्वारमा क्षति पुगेको बताइएको छ। विधान सभाको बैठक जारी रहेको र बुधबार पनि बैठकको आह्वान गरिएकोमा सो हमलापछि बुधकारका लागि बैठक स्थगित गरिएको हो। प्रदर्शनकारीको एक सानो समूहले सो भवनमा इँटा, ढुङ्गा तथा केही विस्फोटक पदार्थसमेत फालेको बताइएको छ। तर विस्फोटक पदार्थ फालेको विषयको भने विद्यार्थीले खण्डन गरेका छन्। सो आक्रमणलाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लिएको थियो। सो भीड नियन्त्रण गर्न करिब एकसय जना प्रहरी परिचालन गरिएको र उनीहरुले अश्रुग्यास पनि प्रयोग गरेका थिए। स्थानीय टेलिभिजनले दिएका दृश्यहरुमा एकजना प्रदर्शनकारीले सो भवनको मूलद्वारमा हमलाका लागि उक्साएको सुनिएको छ। प्रहरीले उक्त कार्यको व्यापक विरोध गरेको छ। प्रहरीले बुधबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो कार्यले सार्वजनिक शान्तिमा खलल पुर्याउनसक्ने भन्दै त्यस्ता कार्य तत्कालै रोक्न आह्वान गरिएको छ। प्रहरीले हिजोमात्र त्यहाँ आन्दोलनरत विद्यार्थीलाई सार्वजनिक सडकबाट हटाएको थियो। प्रहरीले सार्वजनिक स्थलबाट नहटे बल प्रयोग गरी हटाउने चेतावनी दिएपछि विद्यार्थीले कतिपय सडकमा उनीहरु बसिरहेका पाल हटाइदिएका थिए। हङकङको मूल सडकमै गएको सात हप्तादेखि नै हङ्कङको मुख्य बन्द व्यापारका साथै धेरैजसो सरकारी काम र व्यापारमा पनि अवरोध भएकोले प्रहरीले सडकबाट प्रदर्शनकारी हटाएको हो। लामो समयको कथित आन्दोलनका कारण हङकङको जनजीवन नराम्रोसँग प्रभावित हुदैआएको बताइएको छ। एएफपी
|