September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

इबोला लागेका भारतीय युवकमाथि नयाँ दिल्लीमा निगरानी


    नयाँ दिल्ली ३, मंसिर। लाइबेरियाबाट एक साताअघि स्वदेश फर्किएका एकजना भारतीय युवकलाई इबोलाको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै छुट्टै निगरानीमा राखिएको छ।
    अधिकारीहरुका अनुसार एकसाता अघि दिल्ली ओर्लिएका २८ वर्षीय ती युवकलाई त्यहाँको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै निगरानीमा राखिएको छ।
    उनी प्राणघातक इबोला भाइरसबाट संक्रमित भई निको भइसकेको बताइएको छ। तर उनको वीर्यको नमुनामा इबोला भाइरसको अंश देखिएको भारतीय स्वास्थ्य मन्त्रलायका अधिकारीहरुले बताएका छन्।
    उपचारपछि इबोला भाइरसबाट पूर्णरुपमा मुक्त भइसकेको लाइबेरिया सरकारबाट प्राप्त प्रमाणपत्र पनि उनीसँग रहेको अधिकारीहरुले बताएका छन्।
    उक्त प्रमाणपत्रमा ती युवकमा इबोलाको कुनै किसिमको लक्षण नरहेको उल्लेख छ।
    पूर्वसावधानीका रुपमा थप जाँचहरु गर्दा उनको वीर्यमा इबोला भाइरसको अंश देखिएको थियो
    भारतीय अधिकारी विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसार विमानस्थलमा उनको जाँच गर्दा पनि इबोला भाइरसको कुनै लक्षण देखिएन। तर पूर्वसावधानीका रुपमा थप जाँचहरु गर्दा उनको वीर्यमा इबोला भाइरसको अंश देखिएको अधिकारीहरुले बताएका छन्।
    भारतीय स्वास्थ्य विभागका अधिकारीहरुका अनुसार ती युवकमा इबोला भाइरसको अंश पूर्णरुपमा अन्त्य नहुञ्जेल उनलाई छुट्टै निगरानीमा राखिनेछ।
    त्यसो नगरिए उनको संसर्गबाट अरु व्यक्ति संक्रमित हुन सक्ने अधिकारीहरुको भनाइ छ। यद्यपि त्रसित हुनुपर्ने कारण नरहेको र स्थिति नियन्त्रणमा रहेको उनीहरुले जनाएका छन्।
    प्राणघातक इबोला भाइरसबाट हालसम्म पाँच हजारभन्दा बढी मानिसहरुको मृत्यु भईसकेको विश्व सङ्गठनले जनाएको छ। मृत्यु हुनेहरुमा अधिकांश लाइबेरिया, सियरा लियोन र गिनीका छन्।