September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

छालिङमा अन्तरक्रिया र प्रशिक्षण

भक्तपुर, ४ मंसिर। भक्तपुरको छालिङ गाउँ विकास समितिले अङ्गालेको नीति र तय गरेको कार्यक्रमबारे बुधबार अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरेको छ।
    गाविसले लिएको पूर्ण साक्षरता अभियान, पूर्ण सरसफाइ र बालश्रममुक्त छालिङ गाविस बनाउने अभियानलाई सफल बनाउनका लागि आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बाल कल्याण समिति भक्तपुरका संयोजक अनिलकुमार ठाकुरले भक्तपुर जिल्लालाई वि.सं. २०७४ सम्ममा बालश्रममुक्त जिल्ला बनाउने रणनीतिक योजना बनिसकेको चर्चा गर्दै सो योजना सफल पार्न गाविसस्तरदेखि नै अभियान सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो।
    उहाँले बालबालिकाको क्षेत्रमा रहेका विभिन्न गैरसरकारी संस्थाहरूको क्रियाकलापलाई नियमन गर्न जिल्ला प्रशासन कार्यालय तत्पर रहेको चर्चा गर्दै गैससको कामप्रति चनाखो हुनुपर्नेमा जोड दिनुभयो।
    स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले जिल्लामा जारी रहेको तीन अभियानलाई सफल बनाउन तथा स्वास्थ्य क्षेत्रमा सुधारका लागि पूर्ण खोपयुक्त जिल्ला र धुँवारहित जिल्लाको अवधारणा पनि विकास भइरहेको जानकारी दिनुभयो।
    डिभिजन खानेपानी कार्यालयका प्रमुख एवं जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिका संयोजक आशिष घिमिरेले खुला दिसामुक्त जिल्ला घोषणापछि जिल्लावासीको स्वास्थ्य चेतनामा वृद्धि भएको चर्चा गर्दै पूर्ण सरसफाइ अभियानलाई व्यवहारगत रूपमा लग्नुपर्नेमा जोड दिनुभयो।
    गाविस सचिव मणिराम खतिवडाले अभियान सफल बनाउन तथ्याङ्क सङ्कलनको काम भइरहेको बताउनुभयो।
    कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, प्रधानाध्यापकलगायतले पनि सुझाव दिनुभएको थियो।