|
बङ्गलादेशका थप एक नेतालाई मृत्युदण्डको सजाय
ढाका, ८ मंसिर। बङ्गलादेशका थप एक नेतालाई त्यहाँको युद्धअपराध अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। पूर्व सत्तारुढ दलका एकजना नेतालाई सोमबार उक्त अदालतले सो सजाय सुनाएको बताइएको छ। उनी उक्त आरोपमा सजाय पाउने त्यहाँका १४ औं नेता हुन्। बङ्गलादेश स्वतन्त्र हुने क्रममा सन् १९७१ मा त्यहाँ युद्ध अपराध भएको बताइन्छ। सो क्रममा त्यहाँ लाखौंलाख नागरिक मारिएका बताइएको छ। पाकिस्तानबाट स्वतन्त्र हुने क्रममा त्यस समयमा स्वतन्त्रताका मागकर्ताहरूमाथि आक्रमण भएको थियो। एक अनुमानअनुसार त्यस समयमा तीनदेखि पाँचलाखसम्म नागरिक मारिएका थिए। बङ्गलादेशको अवामी लिग पार्टीका नेता मोबारक हुसेनमाथि सो आरोप लगाइएको थियो। उनीमाथि युद्ध अपराधको आरोप लागेपछि सन् २०१२ मा पार्टीबाट निकालिएको थियो। उनीमाथि भएको अनुसन्धान एवम् सुनुवाइपछि दोषी पाइएको भन्दै त्यहाँको युद्ध अपराध अदालतले सोमबार सो सजाय सुनाएको बताइएको छ। बङ्गलादेशेको सो अदालतका सरकारी वकिल सइदुर रहमानले भने– उनीमाथि सो समयमा कम्तीमा पनि ३३ जना नागरिकको ज्यान लिएको आरोपमा भएको अनुसन्धानमा उनको हात देखिएको छ, उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ। एएफपी
|