|
२१ मानव खप्पर भेटिएपछि तान्त्रिक बाबा हिरासतमा
(एजेन्सी) नयाँदिल्ली, ८ मंसिर। भारतको ओडिसा राज्यमा एक पुलमुनि २१ ओटा मानव खप्पर भेटिएका छन्। मानव खप्परसँगै भैसीको खप्पर, हाडखोर, सुकेका फूल, सिन्दुरको डब्बा र पूजा सामग्री भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले तान्त्रिक प्रयोजनका लागि बली चढाएकाहरुको खप्पर हुनसक्ने आशङ्का गरेको छ। प्रहरीले सोही आशङ्कामा एक स्थानीय तान्त्रिक पदिया बाबालाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ। प्रहरीले खप्परको मेडिकल जाँच गर्नको लागि स्थानीय अस्पतालमा पठाएको बीबीसीले जनाएको छ। स्थानीयवासीले शनिबारसाझसम्म आफूहरुले कुनै खप्पर नदेखेको बताएका छन्। प्रहरीले रातिको समयमा कसैले खप्पर ल्याएर पुलको मुनि फालिदिएको हुनसक्ने बताएको छ।
|