|
एघार शिक्षकद्वारा राजीनामा
इलाम, ९ मंसिर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शिक्षकको शैक्षिक प्रमाणपत्र छानबिनका लागि माग गरेको तीन हप्ता बित्न नपाउँदै इलामका ११ जना शिक्षकले पदबाट राजीनामा दिएका छन्। आयोगले शिक्षकको शैक्षिक प्रमाणपत्रको विवरण जिशिकामार्फत माग गरेपछि शिक्षकले धमाधम राजीनामा दिन थालेका हुन्। आजभोलि जिशिका इलाममा शिक्षकको विवरण बुझाउनेको भीड लागेको छ। मङ्सिर १५ सम्ममा शिक्षकको विवरण ल्याइसक्नुपर्ने जिशिकाले निर्देशन दिएपछि भीड बढेको हो। अख्तियारले शिक्षकको शैक्षिक प्रमाणपत्र नक्कली हुनसक्ने भन्दै जिशिकामार्फत विवरण माग गरेपछि उनीहरूले राजीनामा दिएको जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले बताउनुभयो। जिशिकाले राजीनामा दिने शिक्षक र विद्यालयको नाम गोप्य राखेको छ। जिल्लामा अझै पनि केही शिक्षकले राजीनामा दिने बुझिएको जिशिअ गौतमले बताउनुभयो। प्राथमिक तहमा एक हजार ५८७, निमाविमा ४२८, मावि तहमा २८० र उच्च माविमा ४९ गरी दुई हजार ३४४ जना शिक्षक कार्यरत छन्। रासस
|