|
अस्पतालमा चिकित्सक नहुँदा थप समस्या
गरुडा (रौतहट), ९ मंसिर। पुरेनवा आँखा अस्पतालमा दरबन्दीअनुरुप चिकित्सक नहुँदा समस्या भएको छ। दैनिक बिरामीको चाप बढदै जाँदा थप समस्या भएको आँखा अस्पताल पुरेनवाले जनाएको छ। तीन चिकित्सकको दरबन्दीमा एक चिकित्सकले कैयौं वर्षदेखि शल्यक्रियादेखि बहिरङ विभागमा बिरामी जाँच्ने गर्ने गरेको हो। चिकित्सक मात्रको समस्या नभई प्राविधिक कर्मचारीको समस्या पनि रहेको बताएका छन्। नेपालका साथै भारतका बिरामीको बढी चाप रहेको अस्पतालका प्रशासकीय अधिकृत नागेश्वर चौधरीले बताउनुभयो। साउनदेखि कार्तिकसम्ममा २९ हजार ५४१ जना बिरामी परीक्षणमा तीन हजार ६६८ जना बिरामीलाई मोतियाबिन्दुको शल्यक्रिया गरेको अस्पतालका चिकित्सक हरिश्चन्द्र झाले बताउनुभयो। गत आवमा ८८ हजार १५० बिरामीको आँखा परीक्षण भएको थियो। नेपालका बिरामी ३४ हजार ३७९ र भारतका बिरामी ५३ हजार ७७१ जना बिरामीमध्ये ४४ हजार ९५६ पुरुष र ४३ हजार ५८१ महिलाको परीक्षण गरिएको बताइएको छ। सोमध्ये १३ हजार ८२८ जना बिरामीको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ। शल्यक्रिया हुनेमा सात हजार ५४५ भारतीय बिरामी र ६ हजार १८३ जना नेपालीको शल्यक्रिया गरिएको चिकित्सक झाले बताउनुभयो।
|