September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

हङकङ प्रहरीद्वारा ११६ जना प्रदर्शनकारी पक्राउ


    हङकङ, १० मंसिर। हङ्कङमा विगत लामो समयदेखि अस्थिर रहँदै आएको मोङ्ग कोक क्षेत्रमा गत मङ्गलबारदेखि विरोध प्रदर्शन पुनः चर्किएको छ। 
    विरोध प्रदर्शनको पहिलो दिन राती आन्दोलनकारी प्रहरीबीच झडप भएपछि बुधबार बिहान सबेरै प्रहरीले ११६ जनालाई पक्राउ गरेको छ। प्रहरीले मोङ्ग कोक बजार क्षेत्रका सबै सडक अवरोधसमेत हटाएको छ। 
    सबै प्रदर्शनकारीहरुले बेसबल खेल्दा लगाइने खालको रातो टोपी र 'आइ लभ हङकङ अङ्कित रातै रिसर्ट लगाएका थिए।
    केही दिनअघि एउटा मुद्दाको सिलसिलामा हङकङ अदालतले 'सडकको सबै अवरोध हटाई बाटो खुला गर्न' आदेश दिएपछि प्रहरीहरु बाटो खोल्न सक्रिय भएका थिए।
    आइ लभ हङकङ लिखित टिसर्टधारी प्रदर्शनकारीहरुले बाटो खुलाउन प्रहरीलाई सहयोगसमेत गरेका थिए।
    सडकमा तेर्स्याइएका विभिन्न तहका काठका र अरु धातुका बारहरु हटाउने क्रममा प्रहरी आक्रोशित भई प्रदर्शनकारीले जमाएका शिविरका पाल, ओछ्यानलगायतका सामानसमेत ध्वस्त पारिदिएका थिए।
    आफ्नो शिविर ध्वस्त पारेकामा आक्रोशित प्रदर्शनकारी प्रहरीउपर जाइलाग्दै ढुङ्गामुढा गरेपछि प्रहरीले धरपकड सुरु गरेको थियो।
    स्थानीय सञ्चार माध्यमका अनुसार काउलुन क्षेत्रको व्यस्त व्यापारिक क्षेत्र नाथन रोडमा मात्र चार हजार सुरक्षाकर्मी परिचालन गरिएका थिए। प्रहरीका अनुसार प्रदर्शनकारीहरुले बन्चरो, हथौडाजस्ता घातक उपकरण लिएका थिए। प्रदर्शनकारीको प्रहारबाट नौजना प्रहरीसमेत घाइते भएका जनाइएको छ।
    आन्दोलनकारी विद्यार्थीहरुको फेसबुक हङकङ फेडरेसन अफ स्टुडेन्टस पेजमा दिइएको जानकारीअनुसार विद्यार्थी नेताहरु जोस हुआ ओङ्ग र लेस्टरसुङ पक्राउ परेका छन्।
    आफ्नो नेताहरु मुक्त नगरेसम्म आन्दोलन अझै चर्काउने धम्की आन्दोलनकारीले दिएका छन्।
    चीनको अर्धस्वायत्त हङकङमा थप स्वतन्त्रता र अन्य देशसरह पूर्ण प्रजातन्त्रको माग गर्दै विद्यार्थीहरुले चलाएको आन्दोलनउपर चिनियाँ  सरकारले ध्यान नदिएको भन्दै विद्यार्थीहरुले थप कार्यक्रमको घोषणा गरेका छन्।          एपी