September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

श्रद्धालुलाई शौच गर्न समस्या, नगर दुर्गन्धित

जनकपुरधाम, ११ मंसिर। नगर क्षेत्रभित्र शौचालयको अभावमा विवाहपञ्चमी मेला भर्न आउने श्रद्धालु भक्तजन नगरको सडक पेटीमै दिसापिसाब गरिदिएपछि नगर अहिले दुर्गन्धित भएको छ।
     धार्मिक नगरी जनकपुरमा सुलभ शौचालयको अभाव देखिएको छ। भारतको गुजरातबाट आएका साधु राजेश पुरी भन्नुहुन्छ, “विकासको जिम्मा लिएका यहाँका सम्बन्धित निकाय फोहरप्रति किन उदासीन छ त?”
     नगरको ऐतिहासिक स्थल रङ्गभूमि मैदान, तिरुहुतियागाछीमा मात्र फोहरको डङ्गुर थुप्रिएको नभई राम चोक, भैरव चोक, पिडारी चोक, रामानन्द चोक, शिव चोक, स्टेसन एरियालगायत मुख्य भागमा रहेका सडकको पेटी मलमूत्रले फोहर बनेको छ। नगर दुर्गन्धित भएपछि बाटो हिंड्ने बटुवाहरु नाक, मुख छोप्न बाध्य भएका छन्।
     जनकपुर नगरपालिका र जिल्ला विकास समितिले धनुषा जिल्लालाई सन् २०१५ सम्ममा दिसामुक्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाए पनि नगर क्षेत्रमा पर्याप्त मात्रामा शौचालय बन्न सकेको छैन। जनकजननी सीताको जन्मभूमि जनकपुर यति फोहर हुनुमा स्थानीय निकायमा कर्तव्यबोधको अभाव कारक भएको नगरवासी बताउँछन्।
     शौचालय निर्माण गर्न भनेर वार्षिक रुपमा ठूलो रकम आए पनि स्थानीय निकायको उदासीनताका कारण शौचालय भने निर्माण हुन सकेको छैन। 
     विवाहपञ्चमी पर्वमा लाग्ने मेला भर्न छिमेकी मुलुक भारतबाट लाखांै श्रद्धालु भक्तजन आएका छन्।          
रासस