September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्रको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, ११ मंसिर। कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्रको पाँचौं वार्षिक साधारण सभा कीर्तिपुर माध्यमिक विद्यालयको सभाहलमा बुधबार सम्पन्न भयो।
    कार्यक्रमको उद्घाटन  पूर्वसभासद् दिलीप महर्जनले गर्नुभएको थियो। उहाँले स्वास्थ्य केन्द्र सबैको सहयोग पाएर सञ्चालनमा आए पनि संस्थागत गर्न धेरै समस्या झेल्नुपरेको छ भन्नुभयो। राज्यले अन्तरिम संविधानमै शिक्षामा निःशुल्क भने पनि व्यवहारमा लागू नभएको बताउँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र र शिक्षाको प्रगतिमा हामीले शिक्षा लिनुपर्ने बताउनुभयो।
    सुगर रोगीको सङ्ख्या वृद्धि भइरहेकोले रगत परीक्षणमा भक्तपुरमा जनस्वास्थ्यले गरेझैं सस्तोमा परीक्षणको व्यवस्थ्ाा गर्न केन्द्रलाई आग्रह गर्नुभयो।
    नेमकिपाका नारायण महर्जनले सामुदायिक होस् या निजीबाट सञ्चालित स्वास्थ्य केन्द्रबाट जनतालाई सस्तोमा गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो। उहाँले स्वास्थ्य केन्द्र कीर्तिपुर नगरपालिकाको संरक्षकत्वमा मात्र नभै नपाकै मातहतमा ल्याई सञ्चालन गर्न अनुरोध गर्नुभयो। 
    कीर्तिपुर नगरपालिका स्वास्थ्य, शिक्षा, खेलकुदलगायतका क्षेत्रमा आफै अग्रसर हुन नचाहेको चर्चा गर्दै उहाँले जनताको हितमा सबै संस्था क्रियाशील हुनुपर्ने बताउनुभयो।
    एनेकपा माओवादीका सिद्धिकुमार मानन्धरले स्वास्थ्य क्षेत्रको विकासमा राजनीतिको रङ्ग दिन नहुने बताउँदै सञ्चार माध्यमबाट राम्रो कामको प्रचार धेरै गर्नुपर्ने बताउनुभयो। उहाँले उपत्यकामा कुन नपा कसरी सञ्चालनमा छ राम्रो नपाको कामको अनुशरण गर्नुपर्ने बताउनुभयो।
    कार्यक्रममा केन्द्रका सल्लाहकार प्रा.डा.रामकृष्ण महर्जनले स्वास्थ्य संस्थामा सेवा दिनेले मैत्रीपूर्ण व्यवहार गर्नुपर्ने बताउनुभयो।
    अर्का सल्लाहकार रामबाबु विष्टले स्वास्थ्य क्षेत्रमा सबै एक भई सेवा सुविधा प्रदान गर्नुपर्ने बताउनुभयो।
    संस्थाका अध्यक्ष हिराबहादुर महर्जनले संस्थाको प्रगति विवरण, भावी योजना, शिविर सञ्चालनको अवस्था र आय–व्यय प्रतिवेदन पेश गर्नुभएको थियो।
    हिराबहादुर महर्जनको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सदस्य सुनिता शाक्य, सुजिन्द्र महर्जनलगायतले बोल्नुभएको थियो।