|
अपहृत महिलाहरू इराकका ठूला घाउसरह
संयुक्त राष्ट्रसङ्घ, ११ मंसिर। इराकका लागि संयुक्त राष्ट्रसङ्घका विशेषदूत इकोलाई म्लादेनोभले लैङ्गिक हिंसाविरुद्धको अभियानको बुधबार पहिलो दिनमा एक सभालाई सम्बोधन गर्नुहुँदै आतङ्कवादीले महिला तथा बालिकाउपर गरिरहेको अत्याचार र दुरुपयोगलाई मातृभूमिबाट बगिरहेको रगत वा आलो घाउ भन्ने टिप्पणी गर्नुभएको छ। आतङ्कवादीहरूले इराकका सयौं महिला र बालबालिकालाई अपहरण गरेकोलाई एक अवर्णनीय अत्याचार र मानव दुरुपयोग भन्दै संयुक्त राष्ट्रसङ्घले उनीहरूलाई मुक्त गर्न अथक प्रयास गर्नेसमेत जनाउनुभएको छ। राष्ट्रसङ्घीय विशेषदूत निकोलाईले इराक सरकार र सुरक्षाकर्मीसँग अपहरित महिला तथा बालबालिकालाई सकुशल घर फिर्ता गर्न विशेष ध्यान दिनसमेत आग्रह गर्नुभएको छ। इराकमा महिला हिंसा, हत्याविरुद्ध र लैङ्गिक समानताको पक्षमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने अभियान सुरु गरिएको पहिलो दिन विशेषदूतले उक्त सम्बोधन गर्नुभएको छ। गत अगस्तमा इस्लामिक स्टेट आईएसले याजिदी र क्रिश्चियन समुदायका १५० अविवाहित युवतीसहित ४५० देखि ५०० जना महिला अपहरण गरी इराककै निनेभेद क्षेत्रको ताल अफर भन्ने ठाउँतर्फ लगेका थिए। ती महिला तथा युवतीलाई आईएस लडाकूमा भर्ती गर्ने वा आइएस सशस्त्र सैनिकका यौनदासी बनाउन प्रयोग गरिने आशङ्का बढ्दै गएको थियो। यसविरुद्ध संयुक्त राष्ट्र सङ्घले १६ दिने अभियान सुरु गरेको बताइएको छ। सिन्ह्वा
|