|
जापानी पत्रकारविरुद्ध मुद्दा सुनुवाइ
सोल, ११ मंसिर। एकजना जापानी पत्रकारले दक्षिण कोरियाका राष्ट्रपतिको अपमान हुने गरी गत अगस्त ३ मा आलेख छापेको विरुद्धमा परेको मुद्दाको बिहीबार सुनुवाइ सुरु भएको छ। सोलको जिल्ला अदालतका प्रवक्ताले सञ्चारकर्मीलाई जानकारी दिएअनुसार जापानको सान्हेइ सिम्बुनका स्थानीय संवाददाता ताचुया कातो बिहीबार अदालतमा आफ्ना वकिलहरूसहित उपस्थित भएका छन् भने सरकारी पक्षबाट उनीविरुद्ध प्रमाण पेस गरेको छ। दक्षिण कोरियामा भएको भिषण जहाज दुर्घटनाको समयताका राष्ट्रपति पार्क गेयुन हाइ सात घन्टासम्म एकजना मानिससँग भुलिई कार्यालयमा अनुपस्थित रहनुभएको भनी सो संवाददाताले उहाँको आलोचना गर्दै समाचार सम्पे्रषण गरेका थिए। जापानको सान्केइ सिम्बुनमा प्रकाशित उक्त समाचारले कोरियाली राष्ट्रपतिको उपहास र अपमान गरेको अभियोगमा ती पत्रकारउपर मुद्दा चलाइएको थियो। यस घटनाले दक्षिण कोरियाको प्रेस स्वतन्त्रताउपर प्रश्न चिह्न खडा गरेको छ। पत्रकार जगतले राष्ट्रपति पार्कलाई सुमार्गमा ल्याउन कोसिस गर्दा उहाँको सरकार अनुउदार भएको टिप्पणी गरेको छ। गत अप्रिलमा भएको जहाज दुर्घटनामा एक विद्यालयका विद्यार्थीसहित ३ सयभन्दा बढी यात्रुको मृत्यु भएको थियो। सरकारी पक्षले अदालतमा दुर्घटना भएको दिन राष्ट्रपति कहाँ हुनुहुन्थ्यो भन्ने प्रमाणसमेत पेस गर्ने जनाइएको छ। एपी
|